अग्रिम टिकट बुकिङ आजबाट


काठमाडौं (नेस) । नेपाल यातायात व्यवसायी महासंघले आज मंगलबारबाट अग्रीम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।
महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासंघका सचिव सुरेन्द्र सिटौलाले जनाउनुभयो । महासंघले चाडबाडका समयमा यात्रुलाई कुनै समस्या नआओस् भनेर वरिष्ठ उपाध्यक्ष हरिशरण केसी (हुस) को संयोजकत्वमा २३ सदस्यीय अनुगमन विशेष उपसमिति पनि बनाएको छ । त्यस्तै गोंगबु नयाँ बसपार्कमा यात्रुलाई व्यवस्थित गर्नका लागि वरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वाँरको संयोजकत्वमा सचिव सिटौलासमेत रहेको ६ सदस्यीय समिति बनाइएको सचिव सिटौलाले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णग गरिसकेपछि अचानक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने निर्णय गरेको थियो । सरकार र व्यवसायीबीच सहमति भएपछि १० प्रतिशत भाडा बृद्धि भएको छ । सिटौलाले ६ वर्षअघिबाट गाडी भाडा नबढेको सरकारलाई व्यवसायी समस्या बुझिदिनसमेत आग्रह गरेका छन् । ‘ हामीले जति नै राम्रो गरेपनि सधैं आलोचना गरिएको छ, सरकार पनि व्यवसायीमैत्री बन्न सकेन’ सिटौलाले भन्नुभयो ‘ हामीले पनि आफ्ना समस्या यात्रु तथा सेवाग्राहीलाई बुझाउन सकेनौं ।’