ढुगा, बालुवा ठेक्कामा दुई नगरपालिकाबीच विवाद


गोकुल घोरसाइने, बारा
बकैया खोलामा गिटी बालुवाको ठेक्का लगाउने विषयमा बाराको निजगढ र कोल्हवी नगरपालिकाबीच विवाद शुरु भएकोे छ । पुर्वपश्चिम राजमार्गको बकैया पुलबाट ५ सय मिटर दक्षिणतर्फको क्षेत्रमा ठेक्का लगाउने विषयमा दुई छिमेकी नगरबीच विवाद शुरु भएको हो । सिमा नदीको रुपमा मानिदै आएको बकैयामा निजगढ नगरपालिकाले एक साताअघि ठेक्का लगाएर ठेकेदारमार्फत दस्तुर समेत संकलन शुरु गरिसकेको छ भने कोल्हवी नगरले पनि सोही स्थानको बालुवा ढुङ्गा ठेक्का टेण्डर गरिसकेको छ ।

निजगढ नगरले एकलौटिरुपमा ठेक्का लगाएपछि विरोध गर्नु परेको कोल्हवी नगरपालिका प्र्रमुख भरतबहादुर भण्डारीले बताउनुभयो । पुलदेखि दक्षिणतर्फ खोलाको सम्पुर्ण भाग कोल्हवी नगरपालिकामा पर्ने र निजगढ नगरले क्षेत्राधिकार मिचेर ठेक्का लगाएको उहाको भनाई छ । ‘अदालतको आदेश र सरकारी नक्साले समेत सबै भाग कोल्हवीमा पर्ने देखाएको छ, प्रमुख भण्डारीले भन्नुभयो, नियम विपरित लगाइएको ठेक्का कुनै पनि अवस्थामा संचालनमा आउन दिइन्न ।’ जिल्ला समन्वय समिति बाराले दिएको निर्देशन समेत अटेर गरेर निजगढले ठेक्का लगाएको प्र्र्र्र्रमुख भण्डारीको आरोप छ । ठेक्का सहमति दिने क्र्रममा जिल्ला समन्वय समिति बाराले १ महिनाअघि सिमा क्षेत्रभित्र र क्षेत्राधिकार हेरेर मात्र ठेक्का लगाउन पत्राचार गरेको तर निजगढ नगरसपालिकाले सोको वेवास्ता गरी एकतर्फी ठेक्का लगाएको उहाको भण्डारीले बताउनुभयो ।

बालुवा ढुङ्गा ठेक्का विवादमै साविक सपही गाविस विरुद्ध परेको मुद्दामा पुनरावेदन अदालत हेटौडाले ०५७ सालमा खोलाको पानी वहाव क्षेत्रलाई दुई गाविसको सिमा मानेको र सोही अनुसार ठेक्का बन्दोबस्त गर्न भनी फैसला गरेपछि बकैया खोलामा दुई नगरले दावी गर्दै आएका हुन । त्यसअघि निजगढले एकलैटी टेक्का लगाउदै आएको बकैयामा सपहीले समेत दावी गरेपछि निजगढले मुद्दा गरेको थियो । नगरपालिका गठन क्रममा सपही गाविस हाल कोल्हवी नगरमा गाँभिएको छ । विवादित क्षेत्र निजगढ नगरको पश्चिमतर्फ आवादीसंग जोडिएको छ भने कोल्हवी नगरको आवादी क्षेत्र उक्त स्थानबाट १५ किमी दक्षिणमा पर्छ । अदालतको आदेशले विवाद बढा्रएपछि खोलामा जिल्ला विकास समिति बाराले ठेक्का लगाउदै आएको थियो ।

भुमी सुधार मन्त्रालय र नापी विभागबाट प्रकाशन गरिएका नक्सामा समेत अदालतको फैसला अनुसार कै नगरको सिमाङ्गकन गरिएको पाइ्रएको छ । खोलाको सबै क्षेत्र कोल्हवीमा पर्ने भएपनि आपसी सहमतिमा बीच भागबाट पुर्वतर्फ निजगढ र पश्चिमतर्फ कोल्हवीले ठेक्का लगाउने गरी सहमति गर्न सकिने नगर प्रमुख भण्डारीको भनाई छ । कार्यपालिका बैठकले खोलाको बिच भागबाट पश्चिमतर्फ बालुवा ढुङ्गामा ठेक्का लगाउने निर्णय गरेको र सोही निर्णय अनुसार आफु अघि बढने भण्डारीको भनाई छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल भने बकैयामा निजगढले बर्षौ अघिदेखि भोगचल गर्दै आएकोले यसबर्ष पनि ठेक्का लगाएको बताउनुहुन्छ । ठेक्का प्र्रकृया शुरु गर्नुअघि राय माग गरेकोमा जिल्ला समन्वय समितिले खासै चासो नदेखाएको पनि बताउनुभयो । भोगचलको आधारमा नदीको सम्पुर्ण क्षेत्र निजगढमा पर्ने र पुनरावेदन अदालतको फैसला र सरकारी नक्सा समेत गलत भएकोले सच्याउन उहाले माग गर्नुभयो । प्रमुख खनालले निजगढ नगरले लगाएको ठेक्का ७ करोड ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयामा सकार भएको जानकारी दिनुभयो ।