फोहोरबाट कम्पोष्ट मल बनाउँने केन्द्र उद्घाटन


भक्तपुर, (नेस) । मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रबिधिबाट फोहोर व्यबस्थापन गरि कम्पोष्ट मल बनाउँने केन्द्रको सुरुवात गरेको छ । प्रदेश नं. ३ का प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले केन्द्रको उद्घाटन गर्नुभएको छ । मध्यपुरथिमि ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको उहाँले उद्घाटन गर्दै यसलाई नमूनाको रुपमा विकास गर्ने बताउनुभयो । थिमिको एउटा वडाबाट सुरु गरेको भएपनि यो परियोजना सफल भएसंगै प्रदेशका सबै स्थानीय तहमा संचालन गरि प्रदेश नं. ३ लाई अर्गानिक कृषि फार्मका रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले घरघरमा उत्पादन भएको फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाहरु सक्रिय हुनुपर्ने बताउनुभयो । फोहोर व्यबस्थापनमा चौतर्फी चुनौती आईरहेको वर्तमान समयमा यस प्रकारको प्रबिधिको प्रयोगबाट फोहोरलाई कम्पोष्ट मल बनाई उत्पादन बृद्धि गर्न सक्दा कृषिमा लगानी बढ्ने बताउनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले हाल ४ नं. वडाबाट नमूनाको रुपमा सुरु भएको यो प्रबिधिलाई विस्तार गर्दै प्रत्येक वडामा यसप्रकारको कम्पोष्ट मल उत्पादन केन्द्र बनाईने बताउनुभयो । उहाँले नगरपालिकाबाट हाल २ करोड लगानी गरेको र प्रदेश सरकारबाट रु. ५० लाख अनुदान आउँने भएको बताउँदै घरघमा फोहोर संकलन गर्न बाल्टिनी बितरण गरिएको बताउँनुभयो ।
घरघरमा वितरण गरिएको बाल्टिनीमा साताको एक पटक भान्छाबाट निस्कने कुहिने फोहोरलाई संकलन गरि ल्याउँने र केन्द्रमा राखेर त्यसलाई कम्पोष्ट मल बनाई नमूनाको रुपमा आफैले तरकारी उत्पादन गरेर प्रर्दशन गर्ने बताउनुभयो । नेपालमै पहिलो पटक सुरु भएको यो प्रबिधिले कृषकलाई राहत मिल्नुको साथै तरकारी उत्पादनमा यसले ठूलो टेवा दिने बताउनुभयो ।

कार्यक्रममा जापानीज प्रबिधि टोलीका तर्फबाट परियोजनाकाबारेमा जापानीज नागरिक जुन खामो सिदाले मल उत्पादन गर्ने तरिकाबारे जानकारी गराउँनु भएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, परियोजनामा प्राबिधिक सहयोग गर्ने रिशिका कम्पनीका प्रबन्ध निर्देशक उषा गिरी, उपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ श्रेष्ठ लगायतले कम्पोष्ट मल उत्पादनले हुने फाईदाका बारेमा चर्चा गर्नुभएको थियो ।