किरन धामी, दार्चुला ।
दार्चुलाको पुरानो कला संस्कृति दिनानु दिन हराइरहेका बेला जिल्लाको दुहुँ गाउँपालिका संस्कृति जोगाउने अभियानमा सक्रिय भएको छ । विश्व आधुनिकिकरण तथा पश्चिमा सस्कृतिको प्रभाव बढीरहेका बेला स्थानिय सरकार नै स्थानीय पुराना कला संस्कृति संरक्षणमा सक्रिय भएको हो ।
आफ्नै मौलिकता बोकेका, जिल्लाको दुहुँ क्षेत्रका भेष–भुषा तथा संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै ब्याँस र दुँहु गाउँपालिकाले युवाहरुमा पुरानो कला संस्कृति जागृत गर्न कला संस्कृति झल्किने कार्यक्रमको आयोजना गरि कला संस्कृति अभियानमा सक्रिय भएको हो । गाउँपालिकाले स्थानिय युवाहरुलाई संगठित गर्दै कला संस्कृति जोगाउने अभियानमा तल्लीन बनाएको छ ।
पुर्खौ देखी चलिआएका याहाका भेष–भुषा तथा कला संस्कृतिलाई जोगाउन युवाहरुमा समेत जागर चलेको छ । याहाका युवाहरुले दुँहु ब्याँस संस्कृति तथा पर्यटन विकास समाज गठन गरेर संस्था मार्फत संस्कृति जोगाउने कार्य गरिरहेका छन् । युवाहरुले संस्थाबाट गाउँ गाउँमा कला सस्कृृति तथा परम्परागत पहिरन झल्किने किसिमका कार्यक्रमहरु आयोजना गर्न थालेका छन् । बाजे बराजुका पाला देखी चलिआएका भेष भुष स्थानिय कला संस्कृति जगेर्ना गर्न संस्था स्थापना गरि अभियानमा लागेको दुँहु ब्याँस संस्कृति तथा पर्यटन विकास समाजका सचिव निरज बहादुर बमले बताए ।
पुर्खौ देखी चलि आएका कला संस्कृति जोगाउने अभियानमा युवाहरु लागेको प्रति खुसी व्यक्त गर्दै दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले गाउँपालिकाबाट युवाहरुलाई आर्थिक रुपमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । स्थानिय कला संस्कृति अतिक्रमण भैइरहेका बेला युवाहरुको यो अभियानले आफुहरु समेत उत्साहित भएको उनको भनाई छ ।
नयाँ पुस्ताले मौलिकता बिर्सीरहेको भन्दै पाको पुस्ताले चिन्ता व्यक्त गरिरहेका बेला स्थानिय युवाहरु एक जुट भएर स्थानिय कला संस्कृति जोगाउने अभियानमा लागेका छन् । परम्परागत रितीरीवाज, भेष भुषा तथा संस्कृति सम्पतिकै रुपमा रहेको अवस्थामा नयाँ पुस्तामा हस्तान्तरण गरिनु पर्ने बुढापाकाहरुले स्थानिय सरकारलाई सुझाव दिदै आएका छन् ।











प्रतिक्रिया