किस गर्न खोज्दा श्रीमतीले जिब्रो टोकेपछि…



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ । दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा चर्चामा छ ।

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन् । ती महिला आठ महिनाकी गर्भवती थिइन् । श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको सार्वजनिक भएको छ ।

श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने आजतकले जनाएको छ । समाचारमा जनाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो– लोग्नेको रुप । श्रीमतीका नजरमा उनी सुन्दर थिएनन् ।

प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो । उनीहरूबीचको त्यसदिनको झगडा स‌ंझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए ।

तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन् । काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ ।

जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ ।

पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन् । उनीहरु २० नोभेम्बर २०१६ मा विवाह बन्धनमा बाँधिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्