रत्नजीत र दीपेश फाइनलमा


काठमाडौं, (नेस)
तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ रत्नजीत तामाङ र दीपेश धामी फाइनलमा पुगेका छन् ।
शनिबार बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीको कोर्टमा भएको सेमिफाइनल खेलमा रत्नजीतले सिल्क टे«डिंगका प्रिन्स दाहाललाई २–१ सेटले हराएका हुन् । त्रिभुवन आर्मीका खेलाडीले पहिलो सेट २१–१५ ले जिते । तर प्रिन्सले दोस्रो सेट २१–१६ ले जितेर खेल बराबरीमा ल्याएका थिए । निर्णायक सेट २१–१७ ले हात पारेका रत्नजीत लगातार तेस्रो उपाधि जित्न निकट भएका छन् ।

अर्को सेमिफाइनल खेलमा एपीएफका दिपेशले आर्मीका नवीन श्रेष्ठलाई सीधा सेटमा हराएर अल आर्मी फाइनल हुने संभावनालाई समाप्त पारे । उनले सो खेल २१–१६, २१–१२ ले जितेर आज हुने फाइनल खेलमा रत्नजीतसँग खेल्ने पक्का गरेका थिए ।

महिला सिंगल्सतर्फ आर्मीकी रसिला महर्जन र एपीएफकी जेसिका गुरुङले उपाधिको लागि खेल्नेछन् । रसिलाले आफ्नै क्लबकी अमिता गिरिलाई र जेसिकाले एपीएफकै सुनैना मुखियालाई समान २–० सेटले पन्छाएका थिए ।