दुबईमा भारत र पाकिस्तान भिड्दै



नयाँ दिल्ली, (एजेन्सी)
दुबईमा एसिया कपअन्तर्गत सुपर ४ मा भारत र पाकिस्तानबीच आईतबार निर्णायक भिडन्त हुँदैछ । शुक्रबार सुपर ४ अन्तर्गत आ–आफना पहिलो खेलमा यी दुबै टोलीले जितेका थिए । भारतले बंगलादेसलाई र पाकिस्तानले अफगानिस्तानलाई हराएका थिए । आज हुने खेल जित्ने टोलीले फाइनलमा पुग्ने सक्नेछ । यसैले पनि यो खेल निर्णायक र कडा प्रतिस्पर्धा हुने आस गरिएको छ । यस्तै अबुधाबीमा हुने बंगलादेस र अफगानिस्तानबीचको खेलका विजेताको फाइनल पुग्ने संभावना जिवितै हुन्छ । हार्ने टोली भने फाइनल पुग्ने दौडबाट बाहिरिनेछ ।

यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई सजिलोसँगै ८ विकेटले हराएको थियो । पाकिस्तानले सुपर ४ मा अफगानिस्तानलाई हराउन ज्यादै संघर्ष गर्नुपरेको थियो । अफगानिस्तानले दिएको २ सय ५८ रनको लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर अन्तिम ३ बल बाँकी राखी भेटाएको थियो । सोयब मलिकले नटआउट हुँदै अर्धसतक बनाउनु नै पाकिस्तानले संभावित हार टालेको थियो । यदि सोयबको विकेट पतन भएको भए अफगान टोलीले प्रतियोगितामा टेस्ट खेल्ने तेस्रो टोलीलाई हराउने थियो । यसअघि समूह चरणमा अफगान टोलीले श्रीलंका र बंगलादेसलाई हराएर तहल्का मच्चाएको थियो ।

इमाम उल हकले ८० रन र बाबर आजमले ६६ रन जोडेर पाकिस्तानलाई जिततिर अग्रसर गराएका थिए । तर यी दुबै ब्याटसम्यान आउट भएपछि पाकिस्तान निकै दवावमा पुगेको थियो । पछि शोयबले ५१ रनको नटआउट इनिङ खेलेर पाकिस्तानलाई जित दिलाएका थिए । उनले अन्तिम ओभरमा १० रन आवश्यक भएकोमा दोस्रोमा छक्का र तेस्रोमा चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्