एपीएफले जित्यो ढोरपाटनको उपाधि



नेपाल समाचारपत्र, काठमाडौं

पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।

शनिबार गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न फाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई हराएको हो । यो जितसँगै विभागिय टोलीले १ लाख नगद प्राप्त ग¥यो भने प्रदेशीय टोलीले ६० हजार हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानमा भएको खेलमा गीताञ्जली कलेजले आयोजकको टोली ढोरपाटनलाई हरायो । तेस्रो टोलीले ३५ हजार नगद हात पारेको छ ।

एपीएफले गण्डकीविरुद्ध खेल जित्न त्यति मेहनत गर्नु परेन । सो फाइनल खेलमा टोलीले २५–१९, २५–१६ र २५–१७ को सोझो सेटमै जितेको थियो । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता नहुँदा पनि एपीएफको प्रतियोगितामा कडा प्रतिद्वन्द्वी भेटिएन । अर्को खेलमा गिताञ्जलीले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–२२, ३०–२८, २५–१५ ले हराएको थियो ।

प्रतियोगिताका पाँच विधातर्फ उत्कृष्ट हुनेमा एपीएफकै बाहुल्यता रह्यो । उत्कृष्ट हुनेमा सेटरतर्फ दिनेश गिरि, स्पाइकरमा टेकराज अवस्थी, क्वीकरमा बलीराम चौधरी र प्रशिक्षकमा ज्ञानेन्द्र विष्ट रहेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी महेन्द्र श्रेष्ठ घोषित भए । अन्य विधातर्फ गण्डकीका खेलाडीहरु ब्लकरमा हरि पाण्डे, डिफेन्समा राजन दर्लामी र सर्भरमा दौलत सिंह उत्कृष्ट भए । उत्कृष्ट खेलाडी हुने महेन्द्रले मोटरसाइकल प्राप्त गरे भने अन्य विधागत उत्कृष्टले जनही ५ हजार नगद हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्