जापानी लगानीकर्तालाई नेपाल जान राजदुत राणाको आग्रह



टोकियो (नेस) । जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपालमा तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

टोकियो दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी÷व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायलाई बोलाएर नेपालमा लगानीमैत्री वातावरण भएको बताउनुभएको थियो । राजदुत राणाले व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले संविधान जारी भएको दिन नेपालीको इतिहासमा निकै महत्वपूर्ण भएको बताईउनुभयो ।

‘संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न भएको छ’ राजदुत राणाले भन्नुभयो–‘अव प्रधानमन्त्रीको ‘समृद्ध नेपाल खुशी नेपाली’को सोचलाई यथार्थतामा परिणत गर्न आर्थिक विकास र समृद्धि हासिल गर्न नेपाल सरकार अघि बढिरहेको छ ।’

नेपालको प्राकृतिक सुन्दरता, २०२० लाई भिजिट नेपाल बर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाई सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भुमिका खेल्न उहांले आग्रह गर्नुभयो । साथै राजदुत राणाले नेपालको आर्थिक र सामाजिक विकासमा जापान सरकारले खेलेको योगदानका लागि धन्यवाद दिईन ।

कार्यक्रमका प्रमुख अतिथि जापानी विदेश उपमन्त्री आईवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रिक उच्चतम अभ्यास भएको बताउनुभयो । उहांले नेपालको चुनावमा जापान सरकारले पनि परिवेक्षण गरेको स्मरण गर्दै नेपालको लोकतन्त्र सुदृणीकरणका लागि जापान सरकारले सहयोग गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्