झगडा हुँदा श्रीमतीले पुरानो कुरा खोलिदिएपछि…



नेपाल समाचारपत्र, बाँके
लोग्ने–स्वास्नीको झगडा भयो । ‘परालको आगो’ भने पनि यी दुईको झगडाले छिमेकीकोसमेत ध्यान तान्यो । भनाभन भइरहदा श्रीमतीले लोग्नेलाई ११ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको रहस्य खोलिदिइन् ।

सुन्ने मान्छे थुप्रै थिए । त्यहीमध्येको कोहीले प्रहरीलाई खबर गरिदियो, ‘११ वर्षकी बालिकालाई दुव्र्यवहार गरेको कुरा आएको छ ।’ प्रहरी घरमा पुग्यो । श्रीमानलाई समातेर ल्यायो । बालिकालाई पनि स्वास्थ्य परीक्षण गर्न पठायो ।

खासमा भएको के रहेछ भने झण्डै दुई हप्ताअघि ढकाल थरका ती व्यक्तिले छिमेकी ११ वर्षकी बालिकालाई आफ्नो घर सफा गर्न (बडार्न) भनेका रहेछन् । त्यही बेला उनले बालिकालाई यौन दुव्र्यवहारको प्रयास गरेका थिए । करणी नभएकाले त्यस घटनालाई सामसुम पारिएको थियो । त्यस बेला घरमा नभएपनि यो कुरा श्रीमतीले थाहा पाएकी थिइन् । लोग्ने र स्वास्नीको झगडा हुँदा उनले श्रीमानलाई ‘पछार्न’ यही कुरा झिकिदिइन् ।

श्रीमतीले एकछिनको रिसमा खोलिदिएको कुराले श्रीमान भने प्रहरी खोरमा पुगेका छन् । बालिकाले आमाले जाहेरी दिन मानिनन् । प्रहरीलाई पनि आपत प¥यो, अभियुक्तलाई समातेर ल्याउने अनि जाहेरी नआउने । उसले हजुरबामार्फत जाहेरी हाल्न लगाएर अभियुक्तलाई ‘यौन दुरुपयोग’मा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले अदालतबाट म्याद थप गरिसकेको छ ।

घरमा कोही नभएको बेलामा छिमेकी बालिकालाई ‘मेरो पनि घर बडारिदे’ भनेर बोलाएर उनले शरीरमा छोएका थिए । करणी नै नभएपनि उनको आशय गलत देखिन्छ ।

लोग्ने–स्वास्नीको झगडाका बेलामा निस्केको कुरा, बालिकाको आमाले जाहेरी दिन नमान्नुलाई सामान्य मानेर पक्राउ गरिएका अभियुक्तलाई छोड्दा प्रहरीले ‘यौन दुव्र्यवहारका घटना मिलापत्र गरायो’ भन्ने आरोप लाग्थ्यो । त्यही भएर हजुरबामार्फत जाहेरी लिएर कारबाही प्रक्रिया अघि बढाएका छौं, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले भने ।

कोहलपुरमै ७८ वर्षका हजुरबाले तीन वर्षदेखि १३ वर्षकी नातिनीलाई जबरजस्ती गर्दै आएको घटना बाहिर आएपछि बलियो अनुसन्धान गर्न प्रहरीलाई दबाब दिने काम भइरहेको छ ।

ठूलो संख्यामा सडकमै निस्केर सर्वसाधारणले यो घटनामा प्रहरीको काम कारबाही प्रति ‘वाच’ गरिरहेका बेलामा यौन दुव्र्यवहार गरेको भनिएका व्यक्तिलाई पक्राउ गरेर मिलापत्र गरायो भन्ने अर्को आरोप लाग्न सक्नेतर्फ प्रहरी सचेत भएको छ । नयाँ कानूनले पनि प्रहरीले त्यतिकै कसैलाई समात्न पाउदैन । सरकारी वकीलको कार्यालय हुँदै अदालतबाट आदेश लिएर कसैलाई समात्नु पर्छ । कोहलपुर क्षेत्रमा जबरजस्ती करणीका घटना बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्