निर्जलामा दशैंको गीत


नेपाली हिन्दूहरूको महान् चाड भए पनि फिल्मको पर्दामा दशैंका विषय कमै आउँछन्। दशैंसम्बन्धी गीत पनि हत्तपत हेर्न पाइँदैन। रिलिजको लागि तयार भएको फिल्म निर्जलामा भने दशैंको गीत नै हेर्न पाइने भएको छ।

आगामी असोज १९ गते अल नेपाल रिलिज हुने निर्जलाको दशैं विशेष गीत बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। यसपालिको दशैंमा बोलको गीतमा दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीतमा बाबुल गिरी र सुजाता बर्माले स्वर दिएका छन्। यसको भिडियो कोरियोग्राफी कमल राईले गरेका छन्।

भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापालगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा दशैंको वातावरण देखाइएको छ। राजु गिरीद्वारा निर्देशित फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रुमी भट्ट, श्याम राई, पल्पसा डंगोल, सुरवीर पण्डित, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अञ्जली घिसिङ, प्रेम पौडेल, बालकलाकार काजल गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको फिल्ममा रवि कोइरालाको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ।