मेरो कोही महान्यायाधिवक्ता छैन ः ट्रम्प


वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौजुदा महान्यायाधिवक्ता जेफ सेसनसमाथि अहिलेसम्मकै कडा टिप्पणी गर्दै आफूसँग ‘कुनै महान्यायाधिवक्ता’ नभएको बताएका छन्।

हिल टीभीसँगको एक साक्षात्कारमा ट्रम्पले सन् २०१६ को अमेरिकी चुनावमा कथित रुसी हस्तक्षेपको जाँचबाट अलगिने सेसन्सको फैसलाको पनि आलोचना गरे। आप्रवासी मुद्दालाई लिएर सेसन्सले जुन नीति लिए, त्यसप्रति आफू असन्तुष्ट रहेको उनले बताए।

ट्रम्पको बयानलाई लिएर सेसन्सको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। सत्तारुढ राष्ट्रपतिले आफ्नै महान्यायाधिवक्ताप्रति असन्तुष्टि व्यक्त गरिनुलाई असामान्य मानिन्छ। आलोचकहरुका अनुसार ट्रम्प कानुन व्यवस्थामा हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन्।

यसअघि सेसन्सले ट्रम्पका बयानहरुको जवाफमा भनेका थिए– ‘जबसम्म म महान्यायधिवक्ताको पदमा हुन्छु, न्याय विभागको कुनै पनि कदममा गलत राजनीतिको गलत असर पर्न दिन्नँ।

म उच्च मानकको अपेक्षा गर्छु र यदि त्यो नभएमा म कारबाही थाल्छु’ सेसन्सले चेतावनी दिएका थिए।सेसन्स राष्ट्रपति चुनावमा ट्रम्पको अधियानका समर्थकहरुमध्येका एक हुन्। मंगलबार दिएको एक अन्तरवार्तामा ट्रम्पले भने– ‘यो दुखको कुरा हो कि मसँग कोही महान्यायाधिवक्ता छैन।जाँचबाट बाहिर बस्ने सेसन्सको फैसलामा उनले भने– ‘म अत्यन्तै दुखी छु।’ सेसन्सलाई बर्खास्त गर्ने विषयमा विचार भइरहेको छ वा छैन भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने– ‘हामी हेर्छौं, के हुन्छ ? कयौंले मलाई यस्तो गर्न भनिरहेका छन्।’