अवैध लागूऔषध सहित ४ जना पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौंको नागढुंगा, बझाङको मस्टा र मकवानपुरको नेवारपानीबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा चेकपोष्टबाट काभ्रे पनौती बस्ने २१ वर्षीय सुदिप तामाङलाई साढे २ केजी अवैध लागूऔषध चरेश सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको उनी सवार बा।७९ प १३०६ नम्बरको स्कुटर जाँच गर्दा डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।

बझाङ मस्टा गाउँपालिका(२ बस्ने १९ वर्षीय दिपक बुढा र ३९ वर्षीया हस्ता पुरीलाई करीव १२ केजी अवैध लागूऔषध चरेश सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मस्टाबाट खटिएको प्रहरीले उनीहरुलाई सोही ठाउँमा शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त चरेश बरामद भएको हो ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानी बस्ने गोपी स्याङ्वोको घरबाट नियन्त्रित लागूऔषध नुर्फिन ५ सय ४० एम्पुल, डाइजेपाम ५ सय ९० एम्पुल, फेनारगन ५ सय ७७ एम्पुल सहित स्याङ्वोकी १९ वर्षीया श्रीमती सरिता स्याङ्वोलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोपीले घरमा नियन्त्रित लागूऔषध लुकाई छिपाइ राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध बरामद भएको थियो । फरार गोपीको प्रहरीले खोजी गरिरहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।