नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्रै २० वटा

0
Shares

सुरेश तामाङ, काठमाडौं
नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।

अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।

इच्छा देखाएका ३५ निर्माण कम्पनीमध्ये २० वटा मात्रै चिनियाँ कम्पनी रहेको विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो । ‘ग्लोबल टेन्डर आह्वान भएको आधा अवधिसम्म यति धेरैले इच्छा देखाएको छ कि चिनियाँ कम्पनी मात्रै २० वटा छन्’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार चाइनिज २०, नेपाली १०, जापानी ३, भारतीय १ र टर्कीको १ निर्माण कम्पनीले सुरुङ मार्ग बनाउने इच्छा गरेको छ । विभागले फागुनदेखि निर्माण चरणमै जान निर्माण कम्पनी छनोट र सम्झौता गर्ने जनाएको छ ।

विभागले अहिले जग्गा अधिग्रहण र मुअब्जा वितरणको कामलाई तीव्रता दिएको छ । विभागले धादिङतर्फ १ सय ९ रोपनी र काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्दछ । काठमाडौंतर्फ मुआब्जा वितरण सुरु भइसके पनि धादिङतर्फ भने अहिलेसम्म मुआब्जा निर्धारणसमेत हुन सकेको छैन ।

पहुँचमार्गका लागि काठमाडौं साविकका महादेवस्थान, दहचोक, बलम्बु र थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ भने धादिङतर्फ सिस्नेखोलादेखि खत्रीगाउँसम्मका जग्गा अधिग्रहण गर्नुपर्ने विभागले जनाएको छ । त्रिभुवन राजमार्गको बलम्बुदेखि उत्तरतिर लागेर त्रिवेणी घाट हुँदै सुरुङको पूर्वपट्टिको मार्ग तोटीपाखासम्म २ दशमलव ३ किलोमिटर प्रवेश मार्गका लागि दायाँबायाँ २५÷२५ मिटर भाग अधिग्रहणको प्रक्रिया सुरु भइसकेको छ । त्यसमा विभागले तीन लेनको सडक तयार निर्माण गर्नेछ ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपियाँ ऋण दिने सम्झौता भइसकेको छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले यस वर्ष ५ अर्ब ९४ करोड रुपियाँ छुट्याएको छ ।

आयल निगमको थानकोट डिपोभन्दामुनि निस्किने सुरुङलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २ दशमलव २५ किमिको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । पहुँच मार्ग टेलिकम कार्यालयनजिक मुख्य राजमार्गमा जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सडक निर्माण गर्नुपर्ने छैन ।

१२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १÷१ मिटरको पेटी राखिनेछ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका र मालवाहक सवारी तथा मोटरसाइकल चलाउन नदिने योजना छ । सुरुङको लम्बाइ २ दशमलव ३५ किलोमिटर हुनेछ, जसमार्फत् नागढुंगाको जामबाट छुटकारा पाइनेछ । राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिने विभागले जनाएको छ ।