तिस लिटर भन्दा बढी मदिरा बेचे एक लाख जरिवाना

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले मदिरामा कडाई गरेको छ । नगरपालिकाले १४ वटै वडामा मदिरा उत्पादन तथा बितरणमा कडाई गरेको हो । मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७५ कार्यपालिकाबाट पारित भई लागू गरिएकाले मदिरा निषेध गर्न लागिएको बताईएको छ ।

मदिराका कारण सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने भएकाले मदिरा निषेधको तयारीमा लागेको निमित्त कार्यकारी प्रमुख राम बहादुर केसीले बताउनुभयो । नगरपालिकाका १४ वटै वडालाई क्रमिक रुपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारी भईरहेकोले मदिरामा कडाई गरिएको उहाँले जानकारी दिनुभयो । तर मदिरा सञ्चालनका लागि अनुमति (लाईसेन्स) लिएकालाई भने पूर्ण रुपमा निषेध नहुने बताईएको छ । लाईसेन्स प्राप्त मदिरा सञ्चालकहरुले कार्यपालिकाले पारित गरेको कार्यविधि अनुसार मात्र मदिरा बिक्रि गर्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै घरेलु रुपमा उत्पादन गरिने मदिरालाई पनि नगरपालिकाले कडाई गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन तथा विक्रिका लागि नगरपालिकाबाट समेत अनुमति लिनुपर्ने बताईएको छ । कुनै एक व्यक्तिले निजि प्रयोजनका लागि एकवर्षमा ३० लिटर मात्र घरेलु मदिरा बनाउन पाउने व्यवस्था गरिएको छ । वर्षमा ३० लिटर भन्दा माथि घरेलु मदिरा उत्पादन गरेर बिक्रि गरेको पाईएमा प्रचलित कानुन अनुसार नै एक लाख सम्मको जरिवाना गरिने जानकारी दिईएको छ । केही दिन अघिमात्र नगपालिकाले राडीबजारका होटेल तथा पसलबाट मदिरा जफत गरी नष्ट गरेको जानकारी दिएको छ । हाल मदिरा नियन्त्रणका लागि अनुगमलाई पनि जोड दिइएको नगरपालिकाले बताएको छ ।