बैतडीका सबै स्थानिय तह साक्षर घोषणा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका सबै स्थानिय तहहरु साक्षर घोषणा भएका छन । ४ नगरपालिका र ६ गाउँपालिका गरी १०स्थानीय तह सबै साक्षर घोषणा भईसकेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । सबै पालिकाले आ आफ्नो सेवा क्षेत्र भित्रका १५ देखि ६० बर्ष उमेरका नागरिकहरु साक्षर भएको जनाएपछी पुर्ण साक्षर घोषणा गरिएका विद्यालय निरीक्षक शंकर दत्त भट्टले जानकारी दिए ।

कुल जनसंख्याको ९५ प्रतिशत साक्षर भएपछि पुर्ण साक्षरता नगरपालिका तथा गाउपालिका घोषणा गर्न पाउने प्रावधान अनुसार जिल्लाका सबै स्थानिय तहहरु पुर्ण साक्षरता घोषणा गरिएकाहुन् । उनले भने “सबै स्थानिय तहहरुले कुल जनसंख्याको ९५ प्रतिशत माथि साक्षर भएकाले साक्षर घोषणा गरिएका हुन् ।”

यसैबिच बैतडी जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणाको तयारी भएको छ । बैतडीमा १५ देखि ६० बर्ष उमेर समूहका नागरिक मध्ये ९६.३५ प्रतिशत साक्षर रहेकाले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको हो । जिल्लालाई साक्षर घोषणा गर्नका लागि १५ देखि ६० बर्ष उमेरका समूहका नागरिक मध्ये ९५ प्रतिशत साक्षर हुनुपर्ने प्रावधान छ । त्यो प्रावधान बैतडीले पार गरेकाले पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीका अनुसार असोज दोस्रो साताभित्र घोषणाको तयारी भएको छ । पुर्ण साक्षर जिल्ला घोषणा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आथित्य हुने भएकोले समय नमिलेकोले मिति भने तोकिएको छैन् । उनले भने“प्रमुख अतिथीकोज्युको समय मिलेको समयमा घोषणाको तयारी छ ।”

असार २६ गते नै जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भएका भएपनि जिल्लालाई साक्षर घोषणा गर्न मन्त्रीको पर्खाई रहेको छ ।

बैतडीमा वि स २०६७ सालदेखि साक्षरता अभियान सुरु भएको थियो । जिल्लालाई साक्षर बनाउन विभिन्न चरणमा अभियान थालिएका थिए । २०७१ सालसम्म घरधुरी सर्बेक्षण गरिएको थियो । जसमा १५ बर्षदेखि ६० बर्ष उमेर समूहका नागरिकको तथ्यांक लिईएको हो । यस्तै गतबर्षसम्म सामुदायिक सिकाई केन्द्रहरुमार्फत साक्षरता कक्षा सञ्चालन गरिएका थिए । उक्त कक्षामा निरक्षर भएका नागरिकलाई साक्षर बनाउनुका साथै १५ देखि ६० बर्ष उमेर समूहका यसअघि साक्षर भएपनि रिफ्रेस गराईएको थियो ।

विसं २०६८ को जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेको छ ।