अमेजनका संस्थापक बेजोसको दुई अर्ब डलरको सहयोग कोष


वासिंगटन,(एजेन्सी)
संसारकै सबैभन्दा धनी तथां अमेजनका कम्पनीका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब अमेरिकी डलर वरावरको एउटा सहयोग कोष खडा गर्ने घोषणा विहिवार गरेका छन् ।
बेजोसले गत वर्षनै यस कार्यक्रमका सम्बन्धमा ट्वीट गरेर सबैसंग सुझाव माग गरेका थिए । उनको निजी सम्पत्ति १ सय ६० अर्ब डलर रहेको अनुमान फोब्र्स पत्रिकाले गरेको छ ।

बेजोस र उनकी पत्नी म्याकेन्जीद्वारा संयुक्त रुपमा खडा गरिएको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड ’ राखिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा बेजोसले विशेष गरी दुईवटा क्षेत्रमा यस कोषले कार्य गर्ने जानकारी दिएका छन् । उनले भनेका छन् , ‘यसले घरबारविहीन परिवारलाई मद्दत गर्ने र न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत गैरआयमूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्ने गर्दछ ।

क्रमशः यसमा राखिएको रकम वसद्ध गरिँदै लगिने छ । मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देखेर म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ । ’

बेजोसका अनुसार घरबारविहीनका सन्दर्भमा कोषले सहयोगको अति आवश्यक परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिनेछन् । उनले बिद्यालय जानबाट बन्चित स –साना बालबालिका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने पनि स्पष्ट पारेका छन् ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी लोकप्रियता हासिल गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिंगका साथै क्लाउड कम्प्युटिंग लगायत अन्य नयाँनयाँ सेवा पनि शुरु गरेको छ ।
यसै महिनाको शुरुमा एमेजन १० खर्व डलरको मुल्य किर्तिमान सहित स्टक मार्केटमा दोश्रो स्थान ओगट्न सफल भएके थियो । केहि साता अघि मात्र एप्पल कम्पनीले सो स्थान लिएको थियो ।

यस अघि माइक्रोसफटका मालिक अर्वपति विल गेट्स पनि समाज सेवाका लागि अवौं डलर दान दिएका थिए । यसै गरी फेसबुकका संस्थापक मार्क जुकर्वर्गले पनि उक्त सामाजिक संजालमा रहेको आफ्नो ९९ प्रतिशत सेयर समाज कल्याणका लागि सहयोग गर्ने बताइ सकेका छन् ।