राजनीतिक चपेटामा मौसम विभाग

564
Shares

टीका बन्धन, काठमाडौं
हरेकपटक नयाँ सरकार गठन हुँदा आफू अनुकूल मन्त्रालय र मातहतका निकाय फुटाउने र जुटाउने प्रवृत्तिको निशानामा जल तथा मौसम विज्ञान विभाग पर्ने गरेको छ ।

लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।

यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा परेका छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ ।

विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् ।

जलस्रोतबारेका काम कारबाही ऊर्जा मन्त्रालयसँग मिल्ने प्रकृतिका भए पनि मौसमको
कार्यक्षेत्र खुम्च्याएर ऊर्जा मन्त्रालयमा समेट्न जोडबल गर्नु कुनै पनि हालतमा व्यावहारिक नहुने ती अधिकारीको तर्क छ ।

ऊर्जा मन्त्रालयले जल र मौसम दुवैलाई आफू मातहतमा जोडबल गरेको छ भने विभागका गतिविधि आफ्नो मन्त्रालयसँग मेल खाने प्रकृतिका भएको ठहर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ ।
‘हामी त दुई मन्त्रालयको हानथापमा प¥या छांै, अब फेरि कुन दिन कुन मन्त्रालयमा गाभिनुपर्ने हो टुङ्गो छैन’ –विभागका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

जलस्रोतबारेका काम कारबाही ऊर्जा मन्त्रालयसँग मिल्ने प्रकृतिका भए पनि मौसमको कार्यक्षेत्र खुम्च्याएर ऊर्जा मन्त्रालयमा समेट्न जोडबल गर्नु कुनै पनि हालतमा व्यावहारिक नहुने ती अधिकारीको तर्क छ ।

विभागले हवाई उड्डयनसहित आम सर्वसाधारणलाई मौसमी सूचना सम्प्रेषण गर्दै आएको छ भने कृषि, जलस्रोत, बाढी, पर्वतारोहणजस्ता विषयसँग जोडिएका सूचना पनि उपलब्ध गराउँदै आएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि अत्यावश्यक मौसमी सूचना र तथ्यांक सम्प्रेषण गर्ने उद्देश्यका साथ नेपालमा सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएको थियो । त्यसअघि भारतीय मौसम विभागले भारतको कोलकत्ता हुँदै नेपाल भित्रिने विमानका लागि मौसमको पूर्वसूचना बताउने गथ्र्यो ।

सन् १९६६ मा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि भने स्वदेशबाटै हवाई उडानको मौसमी सूचना सम्प्रेषणको औपचारिक अभ्यास शुरु भएको थियो । त्यस बेला विदेशबाट झिकाइएका प्राविधिकको सहयोगमा नेपालले सन् १९७० देखि विधिवत् रुपमा अन्तर्राष्ट्रिय उडानको मौसमी सूचना सम्प्रेषण गर्न थालेको हो ।

विकसित मुलुकहरुमा मौसमी सूचना अद्यावधिक गर्ने निकायलाई वातावरण, यातायात, रक्षा, कृषि, विज्ञान प्रविधिजस्ता मन्त्रालय मातहत समेटिएको छ भने केही देशले मन्त्री परिषद् सचिवालय, राज्य परिषद् जस्ता अंगमा समेटिएका उदाहरण छन् ।

जल र मौसमलाई अलग गर्दै पर्यटन र ऊर्जा मन्त्रालयमध्ये कुनमा गाभ्ने अन्तिम टुङ्गो अझै नलागेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो । मौसमी सूचनालाई अझ चुस्त र विश्वसनीय बनाउँदै हवाई सेवालाई अझ प्रभावकारी बनाउन नागरिक उड्डयन प्राधिकरणले पनि विभागबारे चासो लिएको उहाँले जानकारी दिनुभयो ।

विभागका उप–महानिर्देशक सरजुकुमार वैद्य भने मौसमी गतिविधिसँग जोडिएका निकाय सशक्त हुनुपर्नेमा जोड दिँदै भन्नुहुन्छ– ‘मौसमको सूचना अद्यावधिक गर्ने निकाय अलग्गै हुनुपर्छ, झट्ट सुन्दा सामान्य जस्तो लागे पनि मौसमले समेट्ने क्षेत्र बृहत् छ, कामको प्रकृति फराकिलो छ ।’