पहिरो पिडितलाई राहत वितरण गरिने

0
Shares

किरन धामी, दार्चुला । गत साउन ९ गतेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतउडा बस्ने नरेश भनिने प्रजापति ओडको परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । विहीबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रकोप पिडित उद्दार र राहत सम्बन्धी मापदण्ड (छैठौं संशोधन) २०७४ बमोजिम उनको परिवारलाई रु १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मृतक ओडकी पत्नी जानकी ओडले प्रहरी सर्जमिन मुचुल्का, घटना स्थल लाश जाँच मुचुल्का सहित आवश्यक कागजपत्रहरु संलग्न राखि राहत पाँउ भनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन पेश गरेको आधारमा राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त आचार्यले बताए । उक्त दिन गएको पहिरोले शैल्यशिखर वडा नम्बर ९ गोकुलेश्वर स्थित मान सिह बिकको कुखुरा फर्ममा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला भरी वर्षातको समयमा वर्षा, बाढी, पहिरो जस्ता विपदबाट घर जग्गा, जमिन, व्यवसाय, खाद्यान्न, भाँडाकुँडा, लुगाकपडा सरसामान क्षति भएका १० परिवार र व्यक्तिलाई वितरण गरिएको ८१ हजार ५ सय राहत रकम समर्थन गर्ने निर्णय समेत निर्णय भएको छ ।