किरन धामी, दार्चुला
महाकाली नगरपालिका वडा नम्बर १ छापरीमा चालु आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्युटावर निर्माण गरिने भएको छ ।
समुद्री सतहबाट लगभग १५ सय मिटर उचाईमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपिहिमाल लगायत अन्य हिमालका साथै भारतका हिमाल र विभिन्न बस्तीहरु अवलोकन गर्न पाइने भएकाले भ्युटावर निर्माण गरिने भएको हो । यति मात्रै नभएर छापरीबाट नेपाल तथा भारतका विभिन्न ठाउँका मनमोहक दृष्यका साथै पर्यटकिय स्थलहरुको अवलोकन गर्न सकिन्छ ।
नगर क्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुको विकास गरी आर्थिक रुपमा समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ पर्यटकिय स्थलहरुको विकास गरिने नगर प्रमुख हंसराज जानकारी दिए । पर्यटकिय स्थलहरुको विकासका लागी चालु आर्थिक वर्षमा नगरसभाबाट १ करोड ४० लाख रुपैया विनियोजन गरिएको उनले बताए ।
छापरीमा भ्युटावर निर्माण पस्चात आन्तरिक तथा बाह्य पर्यटकहरु आउने अपेक्षा गरिएको छ । भ्युटावर संगै पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न रेष्टुरेन्ट, पार्क लगायत पर्यटकलाई आकर्षण गर्ने विभिन्न खालका अन्य कुराको विकास निर्माण गरिने उनले बताए । छापरीबाट महाकाली नगरपालिकाको बजार क्षेत्र, वडा नम्बर ३ मा अवस्थित डुङरी तिर्थ स्थल, गल्फै, किम्तडी, धाप तथा भारतको धारचुला, बलुवाकोट लगायतका ठाउँहरुको बस्ती अवलोकन गर्न पाइन्छ ।
भ्युटावर निर्माणका लागी डिपिआर तयार पार्ने कार्य भैइरहेको उनले जानकारी दिए । भ्युटावर सम्म जानका लागी गत आर्थिक वर्ष २०७४÷०७५ देखी सडक निर्माण कार्य समेत सुरु भैइसकेको छ । महाकाली नगरपालिकाको श्रीबगड, मलेरा हुँदै छापरी जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको उनले जानकारी दिए ।
पर्यटकलाई लक्षित गर्दै जिल्ला सदरमुकाम खलंगा देखी छापरी सम्म पदमार्ग समेत निर्माण गरिने उनले जानकारी दिए । गाडीमा यात्रा गर्न रुचाउनेले गाडी चड्नका लागी सडक निर्माण गरिने तथा पैदल हिडेर जान रुचाउनेका लागी पद मार्ग निर्माण गरिने उनको भनाई छ । भ्युटावर निर्माणका लागी चालु आर्थिक वर्षमा ४५ लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए ।
यस्तै नेपाली तथा भारतिय नागरिकको आस्थाको धरोहर डुङरी तिर्थ स्थलको समेत विकास गरिने भएको छ । डुङरी तिर्थ स्थललाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले डुङरी पर्यटन पुर्वाधार निर्माण गरिने उनको भनाई छ ।
डुङरी तिर्थ स्थलमा हरेक हप्ताको शनिबार र मंगलबार भारतिय तथा नेपाली नागरिकको घुइचो लाग्ने गरेको छ । डुङरी तिर्थ स्थलमा मागेको कुरा पाइने विस्वास गरिन्छ । जिल्ला सदरमुकाम खलंगाबाट तिन किलोमिटर पुर्वमा रहेको डुङरी तिर्थ स्थलमा चोखो मनले मागेको कुरा प्राप्त हुने विस्वास रहिआएको छ । उक्त तिर्थ स्थलमा हरेक हप्ताको शनिबार र मंगलबार करिव ५० देखी १ सयको हाराहारीमा बोकाको बली दिइन्छ ।
पुर्णरुपमा छुवाछुत मुक्त उक्त तिर्थ स्थलको विकासका लागी नगरपालिकाले ४५ लाख रुपैया विनियोजन गरेको छ । डुङरी तिर्थ स्थललाई पर्यटकिय दृष्टिकोणले विकास गरि आर्थिक समृद्धिका साथै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको नगर प्रमुख भट्टले जानकारी दिए ।
पर्यटकिय स्थलहरुको विकास गर्न सके आर्थिक समृद्धिका साथै अन्तरिक तथा बाह्य पर्यटकहरु भित्रीने र आफै रोजगारीका अवसरहरु सिर्जना हुने उनको विस्वास छ । नगरपालिका क्षेत्र भित्र रहेका अन्य पर्यटकिय क्षेत्रको विकासका लागी ५० लाख रुपैया विनियोजन गरिएको नगर प्रमुख भट्टले जानकारी दिए ।











प्रतिक्रिया