६१ प्रहरी चौकी बनाउदै प्रदेश सरकार

0
Shares

हेटौंडा,(नेस)
प्रदेश–३ सरकारले प्रदेशको शान्तिका लागि एक अर्ब १३ करोड लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण गर्ने भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यस्तो जानकारी दिनुभएको हो । मन्त्री जम्कट्टेलका अनुसार प्रदेशको चितवनमा चार, मकवानपुरमा नांै, सिन्धुलीमा नौं, काभ्रेमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नांै तथा रामेछापमा आठ प्रहरीचौकी भवन निर्माण गर्न लागिएको छ ।

उहाँले प्रदेशमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई भौतिक पूर्वाधारसम्पन्न गराउन प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताउनुभयो । मन्त्री जम्कट्टेलले प्रदेशका दुई हजार दुई सय द्वन्द्वपीडित परिवारलाई शिक्षा, स्वास्थ्य र सीपमूलक कार्यक्रमका लागि पाँच करोड छुट्याइनुका साथै कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

७१ गाउँपालिकामा महिलाहिंसा, अपराधका मुद्धा हेर्न एक÷एक कानुनी सहजकर्ता अधिकारी राख्न दुई करोड बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो । प्रदेशअन्तर्गत् १३ जिल्लामा विपद् व्यबस्थापन सम्बन्धि कानुन पास भइसकेको र नियम बनाएर अगाडि बढ्ने कार्य भइरहेको मन्त्री जम्कट्टेलले बताउनुभयो ।