नेपाल समाचारपत्र, हेटौडा
गत महिना २७ गते दिनभर धान रोपेर फर्केपश्चात् साँझ करिब ५ बजे घरनजिक जंगलमा घाँस काट्न हिँडेकी शर्मिला सञ्जेल हालसम्म बेखबर छिन् ।
हराएको ४५ दिन बित्दा पनि प्रहरीले चासो नदेखाएको माइती पक्षको आरोप छ । मानिस हराएको भनी अभिभावक प्रहरीमा निबेदन दर्ता गर्दै माइती नेपालसम्म पुग्ने गरेका छन् ।
यसरी हराएका मानिस कहाँ जान्छन् कसैलाई हेक्का छैन । हराउनेहरु थपिँदै गएका छन् । हराउनेमध्ये पुरुषको तुलनामा महिला र बालिकाको संख्या बढी देखिन्छ ।
खुला सीमाका कारण प्रदेश–३ मा महिला तथा बालबालिका हराउने क्रम बढेको दाबी गरिएको छ । वैदेशिक रोजगारीका नाममा महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आव २०७३÷०७४ मा १ हजार २ सय ७५ महिला तथा बालबालिका हराएको निबेदन परेको थियो । महिला ८ सय ६, बालक १ सय २३ र बालिका ३ सय ४३ बेखबर छन् ।
जिल्लाका विभिन्न प्रहरी कार्यालयमा निबेदन परेका महिलामध्ये २ सय ७९ जनामात्र फेला परेको प्रहरीले जनाएको छ । ६ सय ५६ महिला बेखबर छन् । फेला परेका बालक ३८ जना छन् भने ९१ बालिका फेला परेको प्रहरीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा हराएका महिला तथा बालबालिकाको संख्या बढेर १ हजार ६ सय ३४ पुग्यो । जसमा महिला ९ सय ४८, बालक २ सय २ र बालिका ४ सय ४८ छन् । फेला परेका ४ सय २१ मध्ये महिला एक सय ७१, बालक ७९ र बालिका एक सय ७२ छन् । १ हजार २ सय १३ महिला तथा बालबालिका बेखबर रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
चालु आर्थिक वर्षको साउनसम्ममा एक सय ३० जना हराएका छन् भने २७ जना फेला परेका छन् । महिला ८१ जनामा १४ जना फेला परेका छन् भने बालक ११ जना हराएकोमा ४ जना र बालिका ३८ जनामा ८ जनामात्र फेला परेको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी शर्मिला श्रेष्ठले नेपाली महिला वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै जानेको गरेको बताउनुभयो । ‘खुला सीमाका कारण महिला हराउने क्रम बढेको हो,’ श्रेष्ठले भन्नुभयो । सामाजिक सञ्जालले गर्दा पनि किशोरी÷युवती प्रेममा पर्ने र झुठो विवाहको सम्बन्धमा पारेर नेपाली चेली भारतमा बेचिने गरेका श्रेष्ठले दाबी गर्नुभयो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाका अनुसार रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा नेपाली चेली बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको बताउनुभयो ।
प्रहरीमा खोजतलास गर्न निबेदन आउने र त्यसपश्चात् प्रहरीले फेला पारेकोबाहेक भेटिएपछि खबर नगर्ने प्रवृत्तिले फेला परेको संख्या घटेको प्रनि थापाले प्रतिक्रिया दिनुभयो ।











प्रतिक्रिया