इन्टरपोलको सक्रियताले अपराधिको मनोवल गिर्ने क्रम जारी

0
Shares

काठमाडौ । मानव बेचबिखन मुद्धामा फरार रहेका दम्पत्ति मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परेका छन । त्यसैगरी एक वर्षअघि बर्दिवासको होटलमा युवतीलाई जवरजस्ती करणी गरी विदेश फरार भएका सिन्धुली मरिण गाउँपालिकाका सिंहलाल थिङ इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ परेका थिए ।

वैदेशिक रोजगार कसुरमा इन्टरपोल काठमाडौंबाट डिफ्युजन जारी भएका झापा घैलाडुब्बाका सोमनाथ निरौला इन्टरपोलकै समन्वयमा चीनबाट नेपाल आउनेक्रममा पक्राउ परेका छन ।

नेपालमा अपराध गरी विदेशमा फरार हुने तथा विदेशमा अपराध गरी नेपाल आई लुक्ने लामा दम्पत्ति, थिङ, निरौला इन्टरपोलको समन्वयमा पक्राउ पर्ने प्रतिनिधि पात्र मात्र हुन् ।

जघन्य र ठुला अपराध गरी देश बाहिर फरार भएकाहरूलाई नेपाल प्रहरीले इन्टरपोल मार्फत नोटिस जारी गर्ने सक्रियता बढाएपछि अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका हुन् ।

हालसम्म जारी गरिएकामध्ये २९ वटा ‘रेड कर्नर’ नोटिस र २४ वटा ‘डिफ्युजन’ गरी जम्मा ५३ वटा नोटिसहरू कार्यान्वयनको क्रममा रहेका छन् ।

अपराधी पक्राउसँगै पूर्व जारी नोटिस र डिफ्युजन स्वतः निष्क्रिय हुन्छन् । इन्टरपोल मार्फत नेपाल प्रहरीले पछिल्लो चार महिनाको छोटो अवधिमा १४ जनाको नाममा ‘रेड’ नोटिस र ११ जनाको नाममा ‘डिफ्युजन’ जारी गरेको छ । विगतमा न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गरेकोमा नोटिस जारी हुने क्रमको वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको छ । इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् ।

देश बाहिर फरार अभियुक्त पक्राउ गर्न इन्टरपोल एनसिबी काठमाडौं मार्फत नेपाल प्रहरीको सक्रियता, चुनौती र उपलब्धीबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री भन्नुहुन्छ,– ‘इन्टरपोलका सदस्य राष्ट्रबीच एक प्रकारको सञ्जाल हुन्छ ।

त्यो सञ्जालमा आवद्ध भई जघन्य अपराधका नेपाल भन्दा बाहिर फरार अभियुक्तहरूलाई रेड नोटिस र डिफ्युजन आदेशको आधारमा नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउने प्रयास विगतमा झैं गरिरहेको छ । यस काममा पछिल्लो ४ महिनामा हामीले धेरै प्रगति गरेका छौं, जुन तथ्याङ्कले पनि देखाएको छ ।’

सन् २००३ देखि हालसम्म इन्टरपोलको समन्वयमा पक्राउ परेका ३२ जना मध्ये १ अष्ट्रेलियन, १ भारतीय, २ अमेरिकी, ३ चिनिया र १ कोरियन गरी ८ जना विदेशी नागरिक छन् भने अन्य २४ जना नेपाली छन् । पक्राउ परेकामध्ये ३ जना महिला रहेका छन । पक्राउ परेका २४ नेपालीमध्ये १६ जनालाई इन्टरपोलसँगको समन्वयमा विभिन्न देशबाट र ८ जनालाई नेपालमै पक्राउ गरिएको हो ।

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र गरी ८ क्रिमिनल नोटिस तथा डिफ्युजन जारी गर्ने गरेको छ । यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्ने गरेको छ ।

इन्टरपोलको सुरक्षित एवम् विश्वव्यापी प्रहरी संचार प्रणाली आई–२४–७ हो । यस प्रणालीमार्फत इन्टरपोलका सवै सदस्य राष्ट्रसँग सूचना आदान प्रदान गर्ने गरेको छ । सवै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) ले उक्त प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्ने गरेको छ ।

एसएसपी क्षेत्री भन्नुहुन्छ,– ‘ग्बोवल भिलेजको कारणले संसार नै साघुँरो भएको र कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तराष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’

हाल डिफ्युजन कार्यान्वयनको क्रममा रहेका २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला छन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरुको खोजीका लागि डिफ्युजन जारी गर्ने गरिएको छ ।

ठगी, हत्या, बलात्कार, अपहरण, बैंकिङ कसुर, तस्करीमा संलग्न एक भारतीय र २८ नेपाली गरी २९ जना अभियुक्तको नाममा रेड नोटिस कार्यान्वयनको क्रममा छ । अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी भन्नुहुन्छ,–इन्टरपोलबाट जारी नोटिस र डिफ्युजनको आधारमा अपराधीको खोजी हुन्छ । विभिन्न देशमा गएर सम्पर्कमा नरहेका मानिसको अन्तराष्ट्रियस्तरमा खोजी गरी फेला परेको जानकारी दिने गरिन्छ । पछिल्लो समय धेरै नोटिस जारी हुनु र अपराधी पक्राउ पर्नु संयोग मात्रै होइन, प्रहरी सक्रियता पनि हो ।

नेपालले सन् १९६७ सेप्टेम्बर २७ मा १००औं राष्ट्रको रुपमा इन्टरपोलको सदस्यता लिएको थियो । इन्टरपोलका सदस्य रहेका १ सय ९२ राष्ट्रमै यसका शाखा फैलिएका छन् । अन्य सदस्य राष्ट्रसँग समन्वय गर्न प्रत्येक राष्ट्रमा ‘नेशनल सेन्ट्रल ब्यूरो’(एनसिबी) नामको छुट्टै सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ । इन्टरपोलको प्रावधान बमोजिम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल नेपालको समेत प्रमुख हुनुहुन्छ ।