कम्युनिष्ट सरकार सफल हुने नेपालको दावी

0
Shares

भक्तपुर,(नेस) ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता माधव कुमार नेपालले नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको र अब नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार पनि सफल हुनुपर्ने बताउनुभएको छ ।

आज नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली बिद्यालयले भक्तपुरको खरिपाटीमा संचालन गरिरहेको विश्वको कम्युनिष्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा बोल्दै उहाँले कम्युनिष्ट नेतृत्व सरकार सफल हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले तिव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्नेगरि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले मुलुकको समृद्धी र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको चर्चा गर्दै आएका चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई पुरा गर्ने विचार व्यक्त गर्नुभयो ।

कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक सम्बृद्धि र विकास तिर लम्किरहेको बताउँदै उहाँले नेकपा नेतृत्वको सरकारले जनतासंग माछा र पानीको तथा नङ्ग र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले देशमा राजनीतिक क्रान्ति पुरा भएकाले अब सामाजिक, आर्थिक र साँस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको बताउनुभयो । सुखी नेपाली, सम्बृद्धि नेपाल र समाजवाद उन्मुख अर्थतन्त्रमा देश लम्कनु पर्ने बताउँदै उहाँले सामाजिक न्यान, समतामूलक समाज, समावेशी समाजको निर्माणमा अब जुट्नुपर्ने भनाई राख्नुभयो ।

गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको २१ दिने प्रशिक्षण शुक्रबारसम्म संचालन हुनेछ । प्रशिक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, थाईल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिपिन्स, जाम्भिया, कोलम्बिया गरि १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यबस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।