चक्रपथमा मोनोरेल सञ्चालन सम्भव देखियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौंको चक्रपथ क्षेत्रमा मोनो रेल सञ्चालन सम्भव देखिएको छ । सहरी यातायात प्रणाली सुधार गर्न मोनो रेलको सम्भाव्यता अध्ययन गरेको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीले बिहीबार महानगरलाई बुझाएको प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो ।

आर्थिक, प्राविधिक र वातावरणीय पक्षबाट चक्रपथमा मोनो रेल सम्भव छ । यसका लागि गौशालादेखि चावहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । अहिले विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोश्रो लाइनमा मोनो रेल चलाउन सकिने उल्लेख गरिएको छ । विस्तृत परियोजना प्रतिवेदनपछि काम गर्न अनुमति पाएको ३ बर्षभित्र काम सम्पन्न गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कम्पनीका महाप्रवन्धक जोउ सिओवोले बुझाएको प्रतिवेदनको सांरांश सुनिसकेपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अध्ययन हुनु अघि सम्भावना छ कि छैन भनेर हुने गरेको टिप्पणीलाई यसले जवाफ दिएको बताउनुभएको छ ।

महानगरहरुले प्रतिवेदन अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन तयारीका विषयमा निर्णय गर्ने

म मेरै कार्यकालमा मोनो रेल सञ्चालन गर्ने कामलाई सम्भव बनाएर भन्दै मेयर शाक्यले प्रतिवेदनले देखाएको सम्भावनालाई आफुहरुले पनि अध्ययन गर्ने बताउनुभयो । उहांले प्रतिवेदनको अध्ययनपछि परियोजनाको विस्तृत डिपिआर तयार गर्ने बताउनुभयो ।

प्रतिवेदन हस्तानतरण समारोहमा उपस्थित हुनु भएका ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले, प्रतिवेदनले सकारात्मक सञ्चार प्रवाह भएको प्रतिक्रिया दिनुभयो । साढे सत्ताइस किलोमिटर चक्रमध्ये ललितपुरमा थोरै भाग पर्छ तर पनि हामी जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्छौ, मेयर महर्जनको टिप्पणी थियो ।

सम्भाव्यता अध्ययन गरेको कम्पनी सिआरसिसिका महाप्रवन्धक सिओवोले आफूलाई नियमित जिम्मेवारी दिए तोकिएकै समयमा काम सम्पन्न हुने बताउनुभयो ।

सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौता बमोजिम अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो ।

साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीव १० किलोमिटर सडक पर्छ । कम्पनीका नेपाल प्रतिनिधि नविन पोख्रेलका अनुसार मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा दिगोपनलाई आधार बनाएर प्रतिवेदन तयार गरेको बताउनुभयो ।

प्रारम्भिक अध्ययनले चक्रपथ क्षेत्रमा प्राविधिक, आर्थिक, भौगोलिक, सामाजिक र वातावरणीय पक्षबाट रेल सञ्चालन गर्न अनुकल देखाएको हो । चक्रपथ अहिलेको अवस्थालाई ध्यानमा दिएर ३ चरणमा निर्माणको काम गर्नु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ । भर्खरै चक्रपथ सुधार एवम विस्तार भएको कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरणमा, कलंकीदेखि महाराजगञ्जसम्म दोश्रो चरणमा र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेश्रो चरणमा काम गर्दा उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

नियमित काम भए अबको ६ महिनामा विस्तृत परियोजना प्रतिवेदन तयार हुने छ । अहिलेकै अवस्थामा नियमित काम हुन पाए १ खर्ब १६ अर्ब रुपैयाँमा काम सकिने प्रारम्भिक अनुमान प्रतिवेदनमा गरिएको छ ।