काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गैरजिम्मेवार भएको भन्दै आफूहरुले उठाएका प्रश्नको जवाफ नआउन्जेलसम्म संसद् चल्न नदिने भनेपछि सभामुखले बिहीबार ११ बजेबाट सुरु बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको छ ।
बैठकको सुरुमा कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूले सरकारले चित्तबुझ्दो जवाफ नदिउन्जेलसम्म बैठक चल्न नसक्ने चेतावनी दिनुभयो । सभामुखले पटकपटक सरकारको ध्यानाकर्षण भएको र उपयुक्त समयमा जवाफ दिने भन्दा पनि कांग्रेसले तत्काल जवाफ चाहिन्छ भन्ने उठेर जवाफ नआउन्जेलसम्म नबस्ने राखेको थियो । सभामुखले कांग्रेसलाई थामथुम पार्न खोजेपनि कांग्रेस सांसद्हरु सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाड त्यसपछि फेरि पनि बोल्नुभएको थियो । बडूले यी सबै विषयमा सरकारले आधिकारिक धारणा दिन नसकेको, घटना ढाकछोप गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनुभयो ।
बडूले रोल्पाका तरुण नेता रोहित पुनको हत्याको विषयमा पनि सरकारसँग प्रश्न गर्नुभएको थियो । सरकार प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै खोजतलास डटकमका प्रधान सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको प्रति पनि बडूले आपत्ति जनाउनुभएको छ । ७ दिनपछि बैठक बसेको हुनाले पनि कांग्रेसले पछिल्लो समयमा बिकसित घटना उठाएको हो ।











प्रतिक्रिया