नेपाल समाचारपत्र, काभ्रे
नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा भएको बन्दको आंशिक प्रभाव काभ्रेमा पनि परेको छ ।
देशको शिक्षा नीति र सरोकारवालाले राहत शिक्षकलाई विभेदकारी व्यवहार गरेको आरोप लगाउँदै राहत शिक्षकले २६, २७ र २८ गते तीन दिन सामुदायिक विद्यालयमा शैक्षिक हड्तालको निर्णय गरेको थियो ।
सोमबार सरकारी वार्ता टोली र राहत शिक्षकका प्रतिनिधि बिचको वार्ता विना निष्कर्ष टुंगिएपछि मंगलबारबाट राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
काभ्रेमा कतिपय विद्यालयमा २६ र २७ गते पठनपाठन पुर्ण रुपमा बन्द नै भएको थियो भने केहि विद्यालयले तिजको कार्यक्रम गरेका थिए र कतिपय विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गरि विद्यालय बन्द गरेका थिए । बन्दलाई स्थायी शिक्षक, अस्थाई शिक्षक तथा पेशागत संगठनहरु र महासंघले पनि समर्थन गरेको नेपाल राहत शिक्षक समिति केन्द्रिय उपाध्यक्ष अम्बिका प्रसाद दाहालले बताए ।
काभ्रेमा ८ सय ३९ जना शिक्षक राहत शिक्षकको रुपमा कार्यरत छन् । राहत कोटामा कार्यरत शिक्षकलाई एकमुष्ट स्थायी गर्नका लागि संघिय ऐनमा नीतिगत सुधार गर्नुपर्ने, स्थायी प्रकृयाको थालनी गर्नुपुर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा नियमावलीले गरेको व्यवस्थाको स्वामित्व निर्माणको क्रममा रहेको ऐनले गर्नुपर्ने माग राहत शिक्षकले गरेका छन् ।
शिक्षक सेवा आयोगबाट लिइने परिक्षामा उमेरको हदबन्दी हटाउनुपर्ने र राज्यबाट शिक्षक शिक्षक बिच गरिँदै आएको विभेद अन्त्यका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले तीन दिने सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । यसबाट पनि राहत शिक्षकको माग सम्बोधन नभए अर्को चरणको आन्दोलन सुरु गर्ने नेपाल राहत शिक्षक समिति जिल्ला अध्यक्ष केशव पराजुलीले बताए । यसैबिच नेपाल राहत शिक्षक जिल्ला समितिले बन्द सफल भएको निष्कर्ष निकालेको छ । हिजो बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले काभ्रेमा क्रियाशिल विभिन्न शिक्षक संगठनलाई राहत शिक्षकको आन्दोलनमा सघाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । राहत शिक्षक जिल्ला अध्यक्ष केशव प्रसाद पराजुली, सचीव विष्णु प्रसाद चौलाई, सदस्य गोविन्द तिमल्सिना, सुमन तिमल्सिना लगायतको उपस्थिती रहेको थियो । आज काठमान्डौको शान्तिबाटीकामा र्यालीको आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन काभ्रेका सम्पुर्ण राहत शिक्षकलाई राहत शिक्षक समिति काभ्रेले आग्रह गरेको छ ।











प्रतिक्रिया