नेपाल समाचारपत्र, पर्वत
निरन्तरको वर्षापछि पानी जम्दा पर्वत सदरमुकामका विभिन्न स्थानमा जमिन भासिन थालेपछि बजारबासी समस्यामा परेका छन् ।
कुश्मा–ज्ञाँदी झोलुंगे पुल र बडागाउँको साविक जिल्ला पशुसेवा कार्यालयको भवन आसपासमा निरन्तर जमिन भासिन थालेको हो । लभ्लीहिल, अस्पताल परिसर, जिल्ला प्रशासन, राष्ट्रिय अनुसन्धान, बौद्ध गुम्बा र जिल्ला समन्वय समिति भवनलगायत रहेका क्षेत्रमा जमिन भासिएका छन । मंगलबार दिनभर भएको वर्षाले कालोपत्रे सडकसहित जमिन भासिँंदा बडागाउँको लभ्लीहिलमा ६ घर जोखिममा परेका छन ।
रेडक्रस चोकदेखि कुश्मा–बलेवा यान्त्रिक पुल जोड्ने सडकको करिव १० मिटर भासिएको छ । सडकको दुवै तर्फका घर जोखिममा परेपछि स्थानीयमा त्रास छाएको स्थानयि अगन्धर तिवारीले जानकारी दिनुभयो ।
‘हिजो बेलुकासम्म भासिने क्रम रोकिएन,’ तिवारीले भन्नुभयो, ‘रातभर बत्ती बालेर जागै बसियो ।’ आसपासका ऋषिबहादुर थापा र टंक रेग्मी लगायतका परिवार रातभर जाग्राम बसेको उहाँले बताउनुभयो । भासिएको जमिन र वरपरका घर जोगाउन कुश्मा नगरपालिकाले काम सुरु गरेको जानकारी दिएको छ । सडक भासिएपछि बडागाउँ हुँदै उपल्लो बजार जाने सडक समेत अवरुद्ध भएको छ । बडागाउँ क्षेत्रमा वितरित पानीको आपूर्ति पनि रोकिएको थियो ।
कुश्मा–ज्ञादी अग्लो पुलनेर भासिएको जमिन दुई साताअघि नगरपालिकाले पुरेको भएपनि पुनः जमिन भासिने क्रम सुरु भएको हो । साबिकको जिल्ला पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको पर्खाल नजिकै भासिएको जमिन पुरेपनि फेरि घटना दोहोरिनसक्ने डर नहटेको स्थानीय होटल व्यवसायी रामु अधिकारीले बताउनुभयो । स्थानीय तहमा विषयगत इकाइका रूपमा रहनेगरि खारेजीमा परेको पशुसेवा कार्यालयको भवनमा अहिले प्रमुख जिल्ला अधिकारीको निवास रहेको छ ।
त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयको भवन हालसम्म रोकथाम भएको छैन । अनुसन्धान अधिकृतकै कार्यकक्षमा जमिन भासिएको छ । भासिने क्रम बढेर निर्माणाधीन जिल्ला प्रशासनको भवन समेत जोखिममा परेको छ ।
निर्माणाधिन भवनका लागि पानी संकलन गर्न बनाइएको ट्यांकी समेत भासिएको स्थानीयले बताएका छन् । दुई महिनाअघि भासिएको जमिन रोकथाम नहुँदा दायाँबायाँ बढै गएको स्थानीयले बताएका छन । करिव पाँच करोड रुपैयाँको लागतमा निर्माणाधिन जिल्ला प्रशासन भवन समेत भासिन थालेपछि कर्मचारी त्रसित बनेको बताएका छन् ।
बौद्ध गुम्बाजनिकैको डिल भासिएर पहिरो गएपछि आसपासका बासिन्दा गत महिनादेखि त्रसित छन । डिलमा भएको बाँसका झ्याङ र ठुला रुखसहितको ढिस्कोसहित खसेको पहिरो करिव दुई सय मिटर तल कालीगण्डकी किनारमा पुगेको छ । पहिरो बढ्नसक्ने चिन्ताले रातभरि जाग्राम बस्ने गरेको स्थानीय ज्ञानुकुमारी कुँवरले बताउनुभयो ।
नगरपालिकाले भासिएका स्थानमा तत्कालै रोकथाम गरिरहेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । ‘यो वर्ष धेरै ठाउँमा भासिएर हामीलाई तनाव बनाएको छ । नसोचेको ठाउँमा भासिएको छ,’ उहाँले भन्नुभयो । प्राकृतिक प्रकोप नियन्त्रणका लागि बिनियोजित बजेटले नपुगेपछि अन्य शीर्षकबाट रकम छुट्याएर काम गरिएको जोशीले बताउनुभयो ।











प्रतिक्रिया