नेपाल समाचारपत्र, रसुवा
पहिरोका कारण अवरुद्ध भएको चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलाउने प्रयास जारी छ । धुन्चे स्याफ्रु सडक खण्डको खोपाङभीरमा सोमबार साँझ पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
बाढीले क्षति पु¥याउँदा करिव दुई हप्तासम्म सवारी साधन सञ्चालन हुन सकेको थिएन । गत सोमबार व्लाष्टिङ गरेर सडक खुलाएको थियो । धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोको कारण सडकमा क्षति पुगेपछि करिव एक महिनासम्म कारोवार ठप्प भएको थियो ।
पहिरो पन्छाउने कार्य मंगलबार बिहानैदेखि सुरु भएको भएपनि पहिरो ठुलो भएको कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । बुधबार बिहानबाट ठुलो क्षमताको स्काभेटर र लोडरको प्रयोग गरिने उनले बताए ।‘साना क्षमताको साधन प्रयोग गरेर पहिरो पन्छाउन सकिने अवस्थाको छैन प्रजिअ पौडेलले भने, यसका लागि दक्ष जनशक्तिको समेत प्रयोग गर्छौँ ।’
बुधबार साँझसम्ममा बाटो खुलाउनका लागि प्रयास गर्ने उनले बताए । बाढीपहिरोले क्षति गरेको सडक मर्मत गरेसँगै गत मंगलबारदेखि नाकामा सवारी साधन सञ्चालन सुरु भएको थियो । पाँच दिनमा करिव १० करोड राजश्व सङ्कलन भएको थियो । चाडपर्वको सामग्री आयात सुरु भएको कारण सडक खुलाउन जोड दिनुपर्ने व्यापारी पुरुषोत्तम पौडेलले बताए । चीनसँग जोड्ने अन्य नाका सञ्चालनमा आएको छैन ।
भूकम्प र पहिरोको कारण बन्द भएको तातोपानी नाका खुलाउने प्रयास भइरहेको छ । अन्य नाका सञ्चालन नभएका कारण सडक मार्गबाट हुने व्यापार यही नाकाबाट भइरहेको छ । भोट प्रवेश गर्ने छोटो दूरी भएका कारण तत्कालीन भोटका राजा सङ्चन गम्बो र नेपालका राजा अशंवर्माको पालादेखिनै व्यापारिक कारोबार सुरु भएको पाइन्छ । परम्परादेखि नै कारोबार भइरहने नाकामा २०७१ मंसिरदेखि भने नियमित कारोवार भइरहेको छ ।











प्रतिक्रिया