सहुलियत ऋण वृद्धि गर्नुपर्छः मन्त्री खनाल

0
Shares

भक्तपुर ।
कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले कृषिमा लागेकाको उत्पादनमा वृद्धि गर्न आर्थिक अनुदान र सहुलियत ऋणमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायकमा आज आयोजित आरम्भ कृषि सहकारी संस्थाको आठाँै साधारणसभा तथा तीज कार्यक्रममा उहाँले यसका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको हो ।

“नेपाल कृषि प्रधान देश हो, अझै पनि नेपालमा ६६ प्रतिशत जनता कृषिमा निर्भर छन्”, मन्त्री खनालले भन्नुभयो, “यस्तो अवस्थामा कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा लागेका किसान र कृषि सहकारीलाई सरकारको अनुदान र सहुलियत ऋण सहजरूपमा उपलब्ध गराउनु आवश्यक छ ।”

कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहुँचसमेत वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि उत्पादनमा लागेको संस्थाको पहिचानसहित अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले कृषकले गरेका उत्पादनले सहजरूपमा बजार नपाउने र उचित मूल्य नपाउँदा कृषक मारमा परेको भनाइ राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले कृषि सहकारी छायाँमा पर्दै आएको सन्दर्भ कोट्याउँदै कृषि उत्पादनमा वृद्धि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा जिल्ला सहकारी सङ्घका अध्यक्ष महेश श्रेष्ठ, कृषि सहकारी सङ्घका अध्यक्ष शनिष लागेजू, आरम्भ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष उत्तम सापकोटा, संस्थाका सचिव जगन्नाथ डुम्रेलगायतले कृषि सहकारीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट व्यवसायी बलराम सिबन्जार, ज्येष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ट समूह डोलेश्वर सामाजिक परिवार, असल ऋणी कैले तामाङलाई स्म्मान गरिएको थियो । संस्थाका अध्यक्ष महेश थापाले संस्थाको शेयर पूँजी रु ५३ लाख २५ हजार ८००, निक्षेप सङ्कलन रु ६५ लाख ८९ हजार ४८, ऋण प्रवाह रु ६६ लाख ४५ हजार २७१ रहेको बताउनुभयो ।
रासस