मेसीको अर्को कीर्तिमान


लन्डन, (एजेन्सी)
बार्सिलोनाका स्टार तथा कप्तान लियोनल मेसीले अर्को एउटा कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

स्पेनिस ला लिगाको इतिहासमा मेसीले असिस्टमा कीर्तिमान रचेका हुन्। ला लिगाको इतिहासमा सबैभन्दा बढी १ सय ५० असिस्ट गर्ने पहिलो खेलाडी बन्दै उनले नयाँ कीर्तिमान बनाए । यो सँगै मेसीले आफ्नो कीर्तिमानको लामो सूचीमा अर्को नयाँ कीर्तिमान थपेका हुन् ।

बार्सिलोनाले आइतबार नवप्रवेशी हुएस्कालाई ८–२ को फराकिलो गोलअन्तरले हराउँदा मेसीले दुई गोलसहित दुई असिस्ट गरेका थिए ।

जारी सिजनमा दुई गोल गरिसकेका मेसीले ला लिगामा आफ्नो ३१औं ह्याट्रिक नजिक पुगे पनि पाएको पेनाल्टी सुआरेजलाई प्रहार गर्न दिएका थिए । पाँच पटक बालेन डि ओर विजेतासमेत रहेका मेसी २१औं शताब्दीका पहिलो सर्वाधिक १ सय ५० असिस्ट गर्ने खेलाडी बनेका छन् ।

हाल युरोपियन लिगमै सर्वाधिक असिष्ट गरेका मेसीपछि १ सय ४३ असिस्ट गरेका सेच फाब्रेगास १ सय ४३, मेसुट ओजिल १ सय २८, रोनाल्डो १ सय २२ र डानी आल्भेस १ सय १० असिस्टसहित शीर्ष पाँचमा छन् ।