काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध परेका उजुरी शुक्रबार खोलिदै छ । संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गरिने छ ।
मिश्रविरुद्ध चार वटा उजुरी दता भएका छन् । बुधवार अन्तिम समयसम्म उनलाई अनुमोदन गर्न नहुने दाबीसहित चार थान उजुरी दर्ता भएको समितिले जनाएको छ ।
उजुरी अध्यननपछि उजुरीकर्तालाई बोलाउने तयारी समितिले गरेको छ । मिश्रमाथि परेका उजुरीहरुको गम्भीरता र आवश्यक प्रमाण झिकाउने कार्य हुने समितिले जनाएको छ ।
मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको छ । यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।
विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ । १८ पुसमा मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्नेछ ।
राणापछि वरीयताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन् ।











प्रतिक्रिया