रोनाल्डोको बहिर्गमनले रियल कमजोर


लन्डन, (एजेन्सी)
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले क्रिस्टियानो रोनाल्डो रियलबाट बहिर्गमन भएसँगै रियल कमजोर भएको बताएका छन् ।

उनले रोनाल्डो मेड्रिडबाट युभेन्ट्स गएकोमा आश्चर्यचकित समेत भएको बताए । ३३ वर्षीय रोनाल्डो युभेन्ट्स गएपछि मेसीले युरोपमा युभेन्ट्स अपेक्षाकृत रुपमा बलियो विपक्षी हुने महसुुस गरेका छन् । तर चिरप्रतिद्वन्दी रियल मेड्रिड भने अपेक्षाकृत रुपमा कमजोर भएको उनले बताए । उनले इटालियन क्लब युभेन्ट्स भने फुटबलप्रेमीहरुको लागि च्याम्पियन्स लिगको सर्वाधिक रुचाइएको क्लब हुनेमा समेत आशावादी रहेको बताए ।

उनले भने,–‘रियल मेड्रिड विश्वकै एउटा उत्कृष्ट टिम हो र मेड्रिडको स्क्वाड पनि राम्रो छ, तर रोनाल्डोको अनुपस्थितिले टिमलाई कमजोर पारेको उदाहरणहरु थुप्रै छन् । अब युभेन्ट्सलाई च्याम्पियन्स् लिगको रुचाइएका क्लबहरुमध्ये एक बनाउनेछ । उनले रियल छोडेकोमा म अचम्मित भएँ । उनले युभेन्ट्स जानका लागि रियल छोड्छन् भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ । तर उनी राम्रो टिममा गएका छन् ।’’

मेसी र रोनाल्डो ला लिगामा आफ्ना क्लब तथा व्यक्तिगत व्यवहारका कारण अनगिन्ति पटक विवादमा आइसकेका छन् । तर अब भने उनीहरुले एक अर्कालाई ला लिगामा सामना गर्नुपर्ने छैन ।