गन्तब्य उच्च शिक्षाको

0
Shares

-ईश्वरराज ढकाल
माध्यामिक शिक्षाको अध्ययन पुरा गरेका विद्यार्थीहरु भविष्यको बाटो खोज्दै नया नया कलेज खोज्न व्यस्त भएका छन् । कहिले अभिभावक त कहिले आफै नया कलेजको खोजीमा भौतारिरहेका छन् ।

माध्यामिक तह सकेका विद्यार्थीहरुको भविष्यको बाटो बल्ल तय हुन थालेको छ । कलेज तह पुरा गरेपछि मात्रै आफ्नो भविष्यको चाहना पुरा हुने भएकोले विद्यार्थीहरु नया कलेज खोज्न थालेका छन् । कोही सरकारी त कोही निजी कलेजको बाटो खोज्दै हिडेका विद्यार्थीलाई कतिपय कलेजले विज्ञापन गरेर होस वा कतिले विगतको साखलाई समातेर विद्यार्थी तान्न व्यस्त देखिन्छन् ।

अझ भनौँ, भविष्यको रेखा कोर्ने कार्यको थालनी गर्न उनीहरु कलेज खोज्न व्यस्त देखिएका छन् । विद्यार्थीले कक्षा १२ सक्नासाथ आफु यो विषय पढ्ने भन्ने विषयको खाका कोर्न थालिसकेका हुन्छन । तर कुन विषय र कस्तो कलेज छनौट गर्ने भन्ने विषयमा सोची सकेका हुदैनन । भन्छन १२ कक्षा पास भएपछि मात्र विषय छनौट गरेर पढ्छु ।

हुन त विद्यार्थीले प्लसटुमा भर्ना हुँदा नै भविष्यको लक्ष्यका बारेमा सोचिसकेका हुन्छन्, तर प्लसटुको नतिजाले मात्र उनीहरुको सोचाइको खाकाले सार्थकता पाउने गर्दछ । कक्षा १२ पास भएपछि मात्रै साच्चिकै भविष्यको नतिजा कोर्ने भएकोले विद्यार्थीले उच्च शिक्षालाई बढी मान्यताका साथ हेरेको पाइन्छन । हुन त कक्षा १२ सक्नासाथ म डाक्टर बन्छु , पढेर ठुलो भएपछि बैकमा काम गर्छु, इन्जिनियर बनेर देशको सेवा गर्छु । यस्ता यस्तै विषयले विद्यार्थीको मनोवल बढेको पाइन्छ ।

एसईइ परीक्षाको नतिजापछि कतिपय विद्यार्थीलाई कुन विषय लिएर कक्षा ११ मा भर्ना हुने भन्ने बारेमा अन्योल सिर्जना भए जत्तिकै स्नातक तहमा पनि त्यस्तो अन्योल हुन सक्छ । तर अहिले कक्षा १२ सम्मलाई माध्यामिक तहसम्मको शिक्षा बनाएपछि अब विद्यार्थीमा स्नातक तहमा राम्रो गर्नुपर्छ भन्ने सोच बढ्न थालेको छ । जुन विषय लिएर जुन संकायमा अध्ययन गरेपनि सबै संकायमा आ–आफ्नो स्कोप रहेको छ ।

 

चाहे चिकित्सा शिक्षा होस वा इन्जिनियरिङ, मानविकी होस वा व्यवस्थापन ,कानुन होस वा शिक्षा जुन संकाय लिएर अध्ययन गरेपनि आफुले अध्ययन गरेको विषयमा अब्बल भए विद्यार्थीले सफलता पाउन गाहे छैन । नेपालमा स्नातक तहमा चिकित्साविज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन् । तर आफु अध्ययन गर्न लागेको कलेज कस्तो छ भन्ने विषयमा गहन अध्ययन गर्नु जरुरी छ । कलेजको भौतिक अवस्था, विगतमा कलेजले गरेको प्रगति, वर्तमानको अवस्था लगायतका विषयमा जानकारी लिएर मात्रै कलेज छनौट गर्नु आवश्यक हुन्छ ।

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले आफुले कुन विषय लिएर पढ्ने भन्ने विषयमा सजिलै निर्णय गर्न कठिन छ । किन भने अहिले नया नया विषय आएकोले विद्यार्थी अन्इोलमा पर्ने गरेका छन् । स्नातक तहको हागाविगा धेरै भएकोले होला विद्यार्थीलाई आफुले छान्ने विषय छान्न कहिले काही त हम्मे पर्ने गरेको छ ।

निश्चय पनि स्नातक तहमा समेत विषय छनोटको विषय विद्यार्थीका लागि च्यूरा चपाए सरह हुनसक्दछ । सही सुझाव वा परामर्शको अभावमा विद्यार्थीले गलत निर्णय लिन पनि सक्दछ । स्वदेशमै पढ्ने वा विदेशतर्फ लाग्ने ? होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? नर्सिङ् पढ्ने वा बीएस्सीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ?

सरकारी क्याम्पसतर्फ लाग्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? लगायतका विषयमा निर्णय लिन विद्यार्थीहरुलाई पक्कै पनि सजिलो हुँदैन । यी कुराहरु विद्यार्थीको बौद्धिक तथा आर्थिक क्षमतामा निर्भर गर्दछ । नेपालमा स्नातक तहमा चिकित्साविज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन् ।
सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो ।

यहा धेरै विद्यार्थी अध्ययन गरिरहेका हुन्छन् । शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष त्रिविमा करिव २ लाख ८५ हजार विद्यार्थीहरु स्नातक तहमा भर्ना भएका थिए । त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स¬), बीटेक, बीएस्सी टी टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, बीएस्सी न्यूट्रिसन एण्ड डाइटिटिक्स), बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएड लगायतका विषय सञ्चालन गर्दै आएको छ । त्रिविमा सबैभन्दा बढी शिक्षाशास्त्रका विद्यार्थी छन् ।

काठमाडौँ विश्वविद्यालयले बीएस्सी ईन एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन इन्भाइरोमेन्टल साइन्स, बीएस्सी इन हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएस लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर केयुले स्नातक तहमा व्यवस्थापन विषयमा अध्यापन शुरु गरिसकेको छैन ।

पूर्वाञ्चल विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एण्ड टुरिज्म), बीएफडी (फेसन डिजाइ), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एण्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसी लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एण्ड रुरल, सफ्टवेय, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज लगायतका विषयमा पठनपाठन गर्दै आएको छ ।

कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एण्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन शुरु गरेका छन् । सूप विश्वविद्यालयले बीबीएस र बीए चार वर्षे अनर्स कार्यक्रम चलाएको छ भने गत वर्षबाट बीएस्सी र बीई सिभिल कार्यक्रम शुरु गर्दैछ ।