उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल बन्दै

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ । त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ ।

लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ । स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार आउने भएको छ ।

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत धर्मपथपमा स्मार्ट र दरबारमार्ग र न्युरोडमा डिजिटल पार्किङ निर्माण गर्न लागेको हो । कामपा सार्वजनिक निजी साभेदारी एकाइ प्रमुख महेश काफ्लेले दरबारमार्ग र न्युरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताउनुभयो ।

धर्मपथका लागि आशयपत्र माग

कामपाले डिजाइन फाइनान्सिङ ब्युल्ट एन्ड ट्रान्सफर (डीएफबीओटी) मोडेलमा हाम्रो मापदण्ड र लगानीकर्ताको डिजाइनमा काम गर्ने गरी कामपाले निर्णय गरिसकेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकार, लगानीकर्ता र सेवाग्राही सबैलाई समान लाभ हुने तथा दिगो विकासका लागि सहभागिताको मोडेलमा पार्किङस्थलको अवधारणा अघि बढाइएको बताउनुभयो । कामपाले धर्मपथमा १ रोपनी १० आना जग्गामा निर्माण गर्न लागेको पार्किङस्थलमा ५ सय सवारी साधन अट्ने छन् । ७ तलाको सो भवनको प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने तथा कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ ।

पार्किङ भवन प्यारा ट्रान्जिट अर्थात् भवनभित्रकै एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्थासहितको हुनेछ । भवनमा पार्किङ गर्न आउँदा र जाँदा उपभोग गर्न मिल्ने अन्य सुविधा पनि हुनेछन् । पार्किङ भवनमा बस्ने मेच टेबल, पार्किङ क्षेत्रको विवरण देखाउने डिस्प्ले, पार्किङ शुल्क असुली प्रणाली जस्ता विषय पर्छन् । भवनका इन्टरसेक्सन (चोकहरु) पैदल यात्रु तथा सवारी गतिमैत्री हुने छन् ।

पार्किङ भवन ग्रिन बिल्डिङ, स्मार्ट प्रविधि र एकीकृत यातायात प्रणालीमा आधारित हुनेछ । संरचनामा आकाशे पानी संलकन विधि जडान गरिनेछ भने पार्किङस्थल पहुँचयुक्त, पैदलयात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेसन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ सेन्सर, विद्युतीय टिकट संकलन तथा भुक्तानी पद्दति, गतिविधिलाई रियल टाइममा मोनिटरिङ गर्न सकिने विधि हुनेछ ।

न्युरोड र दरबारमार्गमा सञ्चालन गर्न लागेको डिजिटल पार्किङ मोबाइलबाट सञ्चालन गर्न सकिनेछ । कामपाले सफ्टवेयरमार्फत मोबाइलबाट रकम काटेपछि पार्किङस्थलको गेट खुल्नेछ । एक घण्टाको ५० रुपियाँ कायम गर्न लागिएको डिजिटल पार्किङ क्षेत्रमा एक घण्टाको अवधि समाप्त भएपछि पुनः रकम तिरेपछि मात्रै खुल्ने व्यवस्था गर्न लागिएको छ ।

दरबारमार्गमा एक सय र न्युरोड क्षेत्रमा २ सय ५० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने व्यवस्था गरिन लागिएको छ । सो पार्किङ सञ्चालन भएपछि दरबारमार्ग र न्युरोडमा सवारी जाममा कमी आउने काफ्लेले जानकारी दिनुभयो ।