माछा जोगाउन साइबेरियन चरा मुख्य समस्या

0
Shares

हेटौंडा ।
प्राकृतिक जलाशयमा मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ ।
कार्यक्रममा केन्द्र प्रमुख सानुकाजी पछार्इंले आर्थिक वर्ष २०७४÷०७५ मा केन्द्रले गरेको प्रगति र देखिएका समस्या सुनाउनुभयो । केन्द्रले आर्थिक वर्ष २०७४/०७५ मा ह्यचलिङ ६ करोड उत्पादन लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी उत्पादन गरेको छ । ३० लाख फ्राई माछा उत्पादन लक्ष्य राखिएकोमा सोही बराबर प्रगति भएको जनाइएको छ । केन्द्रले गत आर्थिक वर्षमा ७ मेट्रिक टन खानेमाछा उत्पादन गरेको केन्द्र प्रमुख पछार्इंले बताउनुभयो ।

केन्द्रमा उत्पादन हुने माछाका लागि जाडो याममा आउने साइबेरियन चराबाट हुने क्षति मुख्य समस्या छ । पछिल्लो समय त्यसको नियन्त्रणका लागि काम भइरहेको केन्द्रले जनाएको छ । अघिल्ला वर्षहरुमा वार्षिक ८ लाख बराबरको माछा साइबेरियन चराबाट नोक्सान हुने गरेको थियो ।

उत्तरी धुव्रमा चिसो बढ्न थालेपछि साइबेरियालगायत क्षेत्रबाट चिसो छल्न यहाँका सिमसार क्षेत्रमा चरा आउने गर्दछन् । ताल क्षेत्रमा प्रतिवर्ष कात्तिक महिनादेखि साइबेरियन चरा आउने क्रम सुरु हुन्छ । सिमसार क्षेत्रमा बच्चा कोर्लेर चरा चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायत क्षेत्रमा फर्कने गरेको छ । ताल क्षेत्रमा साइबेरियन चराको हुल हेर्न सकिन्छ । योसहित यहाँ विभिन्न प्रजातिका चरा पाइन्छ ।

सूर्य उत्तरी ध्रुवबाट टाढिँदै जाने समयमा उत्तरी ध्रुवमा दिनको आधा समय उज्यालो र आधा समय अँध्यारो हुने गर्दछ । उक्त समयमा अधिकांश समय हिमपात अनि दिन छोटो हुने भएकाले उत्तरी ध्रुवको जनजीवन निकै शान्त र चराचर शून्यप्रायः हुने गरेको छ ।
यतिबेला उत्तरी ध्रुवमा बस्ने मानिस पनि न्यानो ठाउँ खोज्दै अन्यत्र सर्ने गर्छन् भने बन्यजन्तु, पक्षीसमेत सुरक्षित बासस्थानतर्फ लाग्ने गर्छन् । ती क्षेत्रमा पक्षी (जसलाई साइबेरियन चरा भन्ने गरिन्छ) दक्षिण एसियाली मुलुकमा आउने गर्छन् ।

रुस, युरोप, मंगोलिया तथा चीनको उत्तरी क्षेत्रका पक्षी हप्तौंदिन उडेर नेपाल, भारत, श्रीलंका, पाकिस्तान अदि देशका बनजंगल, सीमसार क्षेत्र र घाँसे मैदानमा सुरक्षित बास खोज्ने गर्छन् । यस्ता चरालाई पाहुना चरा र आगन्तुक चरा पनि भन्ने गरिन्छ ।
हरेक वर्ष हिउँदमा १५० प्रजातिका पक्षी नेपाली आकाशमा विचरण गर्ने गर्छन् । गत वर्षसम्मको अध्ययनलाई आधार मान्ने हो भने हिउँदमा कम्तिमा ३० हजार पाहुना चराले नेपाली आकाशमा प्वाँख उमारेका छन् ।

बारबन्देज अभावमा उत्पादित वस्तु चोरी हुने गरेको छ भने भुकम्पबाट पोखरीमा क्षति पुगेकोले पानी नअडिने समस्या उत्पन्न भएको पछाईंले बताउनुभयो । केन्द्रको पानीको स्रोतको रुपमा रहेको घट्टेखोलाको पानी अत्यधिक अतिक्रमण तथा जलवायु परिवर्तनका कारण न्यून रहेकाले माछापोखरी संकटमा पर्ने खतरा रहेको उहाँले बताउनुभयो ।

चोरी रोक्न पाले पहरालाई थप चुस्तदुरुस्त बनाएर केन्द्रको माथिल्लो भागमा बारबन्देज कार्य सम्पन्न गरिएकाले अब यस्ता समस्या हट्दै जाने उहाँको अपेक्षा छ । पोखरीका लागि आवश्यक पानीको स्रोत थप्न निरन्तर प्रयास भइरहेको उहाँले बताउनुभयो । केन्द्रको स्थापना २०२४ सालमा भएको हो । हेटांैडा–५, पिप्लेमा अवस्थित केन्द्र ४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।