ईश्वरराज ढकाल, काठमाडौं
सिसडोल ल्यान्डफिल साइटमा दैनिकजसो भएको अवरोधले काठमाडौ महानगरपालिकालगायतका स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको छैन ।
सोमबार बिहान सिसडोलस्थित बलामी गाउँका स्थानीयबासीले फोहोर बोक्ने आधा दर्जन सवारीसाधनको टायरको हावा खोलेर बाटो अवरोध गरेका थिए । निजी सवारी साधनको हावा खोलेको कारण सबै सवारीसाधन बाटोमै रोकिएको थियो । अहिले राजधानीको फोहोर व्यवस्थापनमा दैनिकजसो अवरोध हुन थालेको छ । वर्षा र सवारीसाधन अवरोधले गर्दा आइतबारसम्म जम्मा ९१ ट्रिप फोहोर व्यवस्थापन गर्न सकिएको कामपाले जनाएको छ, जबकि सिसडोलमा दैनिक १ सय ५० को हाराहारीमा फोहोर व्यवस्थापन हुने गरेको थियो ।
टेकुस्थित ट्रान्फर स्टेसनसमेत फोहोरले भरिएको बताउँदै कामपा वातावरण व्यवस्थापन महाशाखा प्रमुख युवराज खनालले धोबीखोला, बल्खु, कुलेश्वर महानगरका अधिकांश भित्री सडकको फोहोर पनि उठाउन नपाएको स्वीकार्नुभयो । कामपा एक्लैले ल्यान्डफिल साइटको सम्पूर्ण व्यवस्थापन गर्नुपर्दा समस्या आएको तर्क गर्दै कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने वर्षा रोकिनासाथ समस्या सुल्झने बताउनुभयो ।
महानगरकै कर्मचारीले भने वातावरण व्यवस्थापन विभागकै कारण फोहोर व्यवस्थापनमा समस्या आएको आरोप लगाएका छन् । ट्रान्फर स्टेसनमा निजी सवारीसाधनको फोहोर व्यवस्थापनमा रोक लगाइएको भए पनि विभागकै उच्च कर्मचारीको मिलेमतोमा त्यहाँ फोहोर फालिएको उनीहरूको दाबी छ ।
निजी क्षेत्रले सवारीसाधन लोडर, डोजरलगायतका साधन प्रयोग गर्दा कामपालाई राजस्व तिर्नुपर्नेहुन्छ । तर राजस्व नै नतिरी निजी क्षेत्रलाई कामपाको साधन दिइएको बताइएको छ । आर्थिक चलखेलका कारण फोहोर व्यवस्थापनमा समस्या आएको उनीहरूको आरोप छ ।
निजी फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष वासु उप्रेतीले भने फोहोर व्यवस्थापनको जिम्मा निजीलाई नदिए कामपालाई मात्र गाह्रो हुने जिकिर गर्दै भन्नुभयो– ‘लगानी बोर्डले गरेको निर्णय चाँडै नै कार्यान्वयन गर्नुको विकल्प छैन, निजीलाई दोष दिएर समस्य सुल्झिदैन ।’
नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मचाबाबु महर्जनले विभागले समयमै बाटोको व्यवस्थापन नगर्दा समस्या परेको बताउनुभयो ।











प्रतिक्रिया