अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

0
Shares

मधूसुदन रायमाझी, काठमाडौं
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो ।

प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रीय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।’

प्रदेश सरकारको मागअनुसार लाइसेन्स छाप्ने अधिकार प्रदेश कार्यालयलाई दिने प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ । प्रदेश कार्यालयलाई आवश्यक पर्ने प्रिन्टर प्रदान गर्न ठेक्का आह्वानदेखि प्रिन्ट गर्दासम्म केन्द्रीय डाटासँग जोड्ने प्रणाली बनाएर मात्र प्रिन्टर उपलब्ध गराइने भएको छ । हाल विभागले देशभरका यातायात कार्यालयमार्फत अनलाइनबाट फर्म भर्ने र डाटा संकलन गरेर स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । ”

 

–६ लाख छाप्न बाँकी
–निजी क्षेत्रलाई छपाउन दिने तयारी

विभागबाट मात्र लाइसेन्स छपाइ हुँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउनका लागि महिनौँ कुर्नुपर्ने समस्या सिर्जना भएपछि प्रदेश कार्यालयलाई नै प्रिन्टर दिने तयारी विभागले गरेको हो । ‘

यसै गरी प्रिन्टर बिग्रिँदा ट्रायल पास गरेर ६ लाख जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । तर यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आगामी तीन महिनाभित्र ६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मागअनुसारको अहिले प्रिन्ट हुन सकेको छैन, प्राइभेट क्षेत्रलाई दिएर पनि तीन महिनाभित्र बाँकी रहेको कार्ड वितरण गछौं ।’
स्मार्ट कार्ड छाप्नका लागि विभागले सूचना जारी गर्ने तयारी गरेको छ । यसका लागि निजी क्षेत्रले पनि चासो व्यक्त गरेको बताउँदै प्रवक्ता उपाध्यायले छिट्टै काम थालिने दाबी गर्नुभयो । निजी क्षेत्रलाई विभागले भौतिक पूर्वाधारसँगै स्मार्ट कार्ड र डाटा उपलब्ध गराउनेछ । ‘

विभागले यसअघि नै ट्रायल पास गरेको एक महिनाभित्र नै स्मार्ट लाइसेन्स उपलब्ध गराउने दाबी गरे पनि हाल कार्ड प्रिन्ट गर्ने मेसिन बिगिँ्रदा भद्रगोल बनेको छ । नौवटा प्रिन्टर मेसिनमध्ये चारवटा बिग्रिएका छन् । पाँचवटा मेसिन सञ्चालनमा रहे पनि दुई वटा मात्र पूर्णरुपमा सञ्चालन छन् । बिग्रिएका तीनवटा प्रिन्टरको मर्मतको काम भइरहेको विभागले बताएको छ । एउटा मेसिनले एक लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने क्षमताको हुने बताउँदै प्रवक्ता उपाध्यायले केही प्रिन्टरको छपाइ क्षमता सकिएकाले थप प्रिन्टर ल्याउनका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

हाल स्मार्ट लाइसेन्सको माग दैनिक ४ हजार छ तर मुस्किलले २ हजार मात्र प्रिन्ट हुने गरेको छ । हाल भइरहेको प्रिन्टरमा पनि दोहो¥याएर फरक–फरक प्रिन्टमा कार्ड हाल्नुपर्ने झन्झटको कारणले पनि ढिलाइ भइरहेको छ ।

२०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया सुरु भएको थियो । विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि दिनप्रतिदिन माग बढ्दै गएको छ । कागजी लाइसेन्स हुनेहरुले पनि स्मार्ट कार्डका लागि निवेदन दिएका छन् । ट्रायल पास गरेको १० महिना बितिसक्दा पनि चालकहरु चिटकै भरमा सवारी चलाउन बाध्य छन् । विभागले गत साल असोजमा एकैपटक ७ लाख ५० हजार कार्डको लागि मद्रास प्रिन्टसँग सम्झौता गरेको थियो ।