कसरी आइपुग्यो नेपालगञ्जसम्म यार्सा ?

0
Shares

बाँके (नेस)। डोल्पाबाट छुटपूर्जी नलिई ६ किलो यार्सागुम्बा नेपालगञ्ज पु¥याइएको छ । डोल्पाबाट आएका श्रवणबहादुर बुढाले विमानबाटै अवैध यार्सा नेपालगञ्जसम्म ल्याएका हुन् ।

ठूलोभेरी नगरपालिका–६ का बुढाले ल्याएको ६ किलो सय ग्राम यार्सा नेपालगञ्ज विमानस्थलमा खटिएका प्रहरीले बरामद गरेका हुन् । बुढाले डोल्पा विमानस्थलबाट कसरी यार्सा पार गराए चासोको विषय बनेको छ ।

गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा चुनाव लडेका बुढा पराजित भएपछि यार्सा कारोबारतिर लागेको डिभिजन वन कार्यालय, बाँकेका एक अधिकारीले बताए ।

विशेष सुराकका आधारमा राँझा विमानस्थलमा खटिएका प्रहरीले बुढाको साथबाट यार्सा बरामद गरेको थियो । विमानस्थल प्रहरीले बुढालाई यार्सासहित जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठायो । प्रहरीले आवश्यक कारबाहीका लागि वन कार्यालयमा पठाएको छ ।

वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले बुढासँग यार्साको छुटपूर्जी नरहेको बताउनुभयो । कागजपत्र कुनै नरहेकाले बुढाका विरुद्धमा कारबाही प्रक्रिया अघि बढाएको खड्काले बताउनुभयो । वन ऐनमा प्रति किलो यार्साका लागि पच्चिस हजार राजश्व तिर्नु पर्छ । बुढासँग कुनै कागजपत्र नरहेकाले बरामद यार्सालाई लिलाम प्रक्रिया अघि बढाइने खड्काले बताए । वन कार्यालयले प्रतिकिलो न्यूनतम २५ हजार राखेर लिलामी प्रक्रिया अघि बढाउने जनाएको छ ।

बुढाले खरिद गरेर यार्सा ल्याएको चाइना लैजाने बयान दिएका छन् । नेपालबाट मात्रै नभई भारतबाटसमेत ल्याएर यार्सालाई चाइना पु¥याउने गरिन्छ । नेपालमा पाइनेजस्तो भारतको यार्सा गुणस्तरीय नहुने व्यापारीहरु बताउँछन् ।

चाइनामा १५ देखि २० लाखसम्म प्रतिकिलो यार्सा बिक्री हुने व्यापारीहरु बताउँछन् । यार्सादेखि लागु औषध चरेश, अफिम, गाजासमेत पहाडी जिल्लामा उत्पादन हुने र त्यसलाई नेपालगञ्जमा पु¥याएर गन्तब्यतिर लैजाने गरेको पाइन्छ । डोल्पा विमानस्थलबाट ‘सेटिङ’ गरेर यार्सा नेपालगञ्जसम्म ल्याइ पु¥याएपनि त्यही व्यक्तिले यता खबर गरेर पक्राउ गरिदिएको आकलन गरिएको छ ।