काठमाडौं, (नेस)
श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले काठमाडौंस्थित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सचिवालयको भ्रमण गर्नु भएको छ ।
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनु भएका सिरिसेनाले आइतवार विहान सचिवलायको भ्रमण गर्नु भएको हो ।
सचिवालय स्रोतका अनुसार सिरिसेनालाई सार्क महासचिव अम्जाद हुसियान बी सियालले सार्कका गतिविधीबारे अवगत गराउनु भएको थियो । सोही भ्रमणका क्रममा राष्ट्रपति सिरिसेनाले सचिवालय परिसरमा बृक्षरोपण पनि गर्नु भएको थियो । यस अघि गत फागुन तेस्रो साता नेपाल भ्रमणमा आउनु भएका पाकिस्तानका तत्कालिन प्रधानमन्त्री साहिद खाकन अब्बासीले पनि सचिवालयको भ्रमण गर्नु भएको थियो ।
यसै वीच बिमस्टेक सम्मेलनका लागि गत बुधवार नेपाल आउनु भएका श्रीलंकाली राष्ट्रपति सिरिसेना आइतवार अपरान्ह्र स्वदेश फर्कनु भएको छ । उप–प्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।
शुक्रवार बिमस्टेक सम्मेलन समापन भएपनि सिरिसेना त्यसपछि नेपालको औपचारिक भ्रमणका विशिष्ठ पाहुनाका रुपमा रहनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले शनिवार र आइतवार नेपालको औपचारिक भ्रमण गर्नु भएको बताइएको छ ।











प्रतिक्रिया