बैतडी ।
प्रदेश सात(सुदूरपश्चिम)मा मनाइने गौरा पर्वको आज तेश्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले बिशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले आज बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुरका हरिना अवस्थीले बताए ।
आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उहाँले बताउनुभयो । गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने चलन रही आएको छ ।
ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ ।
आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोली दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । गौराको मुख्य दिनकै रुपमा मानिने अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरुले गौराको पूजन गरेपछि मिठोमसिनो खाने गर्दछन् ।











प्रतिक्रिया