विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाउने

0
Shares

काठमाडौं, (नेस)
सर्वोच्च अदालतले विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ ।

गत चैत ७ गते न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको आदेशको पूर्ण पाठ सार्वजनिक गरिएको हो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा विदेशी नागरिकता भने त्यागेको हुनुपर्ने आदेशमा सर्त राखिएको छ ।

आदेशमा भनिएको छ– ‘विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरुले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनू ।’

मतदान गर्ने अधिकार नागरिकको सार्वभौम अधिकार निहीत मौलिक एवं प्रजातान्त्रिक अधिकार भएकोले सो अधिकार उपभोग गराउनु आदेशमा भनिएको छ । आदेशमा नेपाली नागरिकहरु विभिन्न देशहरुमा छरिएर रहेका र विदेशी नागरिकलाई आफ्नो भूमिभित्रबाट मतदान गर्न दिने सम्बन्धमा अलग अलग देशमा फरक फरक कानुन र नीति हुन सक्ने बताइएको छ ।