काठमाडौं । ललितपुर, धादिङ, मोरङ, गुल्मी र कंचनपुरमा भएका छुटाछुटै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । दुर्घटनामा ललितपुरमा १ जना, धादिङमा १ जना,मोरङमा २ जना, गुल्मीमा १ जना र कंचनपुरमा १ जनाको मृत्यु भएको हो ।
दुर्घटना मध्ये ललितपुर महानगरपालिका–१५ कुसुन्तीस्थित बा. ५६ प २७६२ नम्बरको स्कुटीले पैदलयात्री कसंगिता थापालाई ठक्कर दिँदा उनको काखमा रहेकी ५ महिनाकी छोरी पायुजा थापा घाईते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ निलकण्ठ नगरपालिका–८ स्थित सडकमा बा.६४ प ५६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक शिद्दलेक गाँउपालिका–६ बस्ने खेम मगरको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङ रतुवामाई नगरपालिका–८ सडकखण्डमा को.१ च ७७४६ नम्बरको भ्यानको ठक्करबाट घाइते भएका साईकल यात्री अनिल न्यौपानेको बिएनसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । साथै दुर्घटनामा भेनमा सवार ४ जना घाइते भएकोमा उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
मोरङकै पथरीशनिश्चरे नगरपालिका–१ हरीयालीस्थित सडकमा को.३ प ७९०९ नम्बरको मोटरसाइकल र बा.१८ च ३४७ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा पैदलयात्री तेह्रथुम लालीगुरास नगरपालिका–२ बस्ने उद्धव मोतेको स्थानिय पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३ जना पैदलयात्री र मोटरसाइकल चालकको पथरी अस्पताल र डाईनेष्टीक अस्पतालमा उपचार भइरहेको छ ।
गुल्मी मालीका गाउँपालिका–२ भुमिकाचौर कोईलोखोलामा तम्घासबाट नेटादर्लिङतर्फ जादै गरेको लु.१ ज १९५७ नम्बरको जिप शनिबार सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा घाइते भएकी जिपमा सवार सोही गाउँपालिका बस्ने मनकुमारी घर्तीको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारको लागि तम्घासतर्फ लगिएको छ ।
कंचनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित सडकमा से.१ ज ८६२ नम्बरको हाईस र से.२ प ९६६९ नम्बरको मोटरसाइकल शनिबार एकआपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक कंचनपुर भिमदत्त नगरपालिका–१८ बस्ने हरिशप्रसाद भट्टको पद्म अस्पताल अत्तरीया कैलालीबाट थप उपचारार्थ भारतको हल्द्वानीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।











प्रतिक्रिया