गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा संचालित सि.सं. २० गुल्मपति तथा स्टाफ तालिमकोे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा उहाँले प्रशिक्षणको दौरानमा आर्जन भएको व्यावसायिक ज्ञान, कला र कौशलले सांगठनिक दायित्व र लक्ष्य हासिल गर्ने मार्ग सहज र सुगम हुने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफुलाई प्राप्त जिम्मेवारी पुरा गर्ने तथा जनताले अपेक्षा गरेको सेवा र सुरक्षाको अभिभारा सफलतापूवर्क पुरा गर्दै कार्यक्षेत्रका चुनौतीलाई परास्त गरी अगाडी बढ्ने आत्मविश्वास तालिमबाट प्राप्त हुने कुरा समेत उल्लेख गर्नुभयो ।

उहाँले तालिमले क्षमता विकास गर्ने हुँदा फौजी संगठनमा यसको महत्वपूर्ण भूमीका रहने चर्चा गर्दै सतकर्म सत विचारका साथ सतमार्गमा हिड्न निर्देशन समेत दिनुभयो ।

सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आफुलाई प्राप्त जिम्मेवारीलाई सहज ढंगले पुरा गर्दै व्यावसायिक कुशलताका साथ कार्यक्षेत्रमा अगाडी बढिरहनुपर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आगामी दिनहरुमा आउन सक्ने चुनौतीको सामना गर्न समेत सधै तम्तयार रहनुपर्ने बताउनुभयो ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले संगठनको निर्दिष्ट लक्ष्य हासिल गर्न सक्षम, कूशल र क्षमतावान अधिकृत उत्पादन गर्ने कार्यमा यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक ज्ञान सिप र नेतृत्व विकासमा जोड दिदै प्रशिक्षणको दौरानमा प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइएको बताउनुभयो ।

गत जेठ १३ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ३ जना, सशस्त्र प्रहरी निरीक्षक ३१ जना र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत १ जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक बिनोद कार्की सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक नरबहादुर शाही उत्कृष्ट ठहरिएका छन् ।