मार्शल आर्टस्मा शून्य उपलब्धि


नेपाल समाचारपत्र, काठमाडौं
बैदेसिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च राख्ने र नयाँ नयाँ प्रविधि सिक्न पाउने अवसर प्रदान गर्छ । नेपाली खेलाडीको लागि बैदेसिक प्रशिक्षण धेरै नै हुने पनि गर्छ । १८औं एसियाली खेलकुदका लागि नेपालले २९ खेलमा सहभागि जनाएकोमध्ये १९ खेलका लागि बैदेसिक प्रशिक्षण दिइएको थियो । बैदेसिक प्रशिक्षणले गर्दा यस पटक पदकको ताँती नै लाग्नु पर्ने थियो । तर यसो भएन ।

इन्डोनेसियामा जारी एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा ठूलो झट्का मार्शल आर्टस्ले दियो । कराँते, तेक्वान्दो, उसु र जुडो जस्ता खेलमा नेपाली खेलाडीको प्रदर्शन माथि उठ्न सकेन । कराँते र तेक्वान्दोले त विगतमा एसियाली खेलकुदमा पदक दिलाएकै हो । यसपटक इन्डोनेसियामा यी दुबै खेलबाट पदक आएन । कराँतेका दुई खेलाडी चन्चला दनुवार र अनु अधिकारी कांस्य निकट पुगेका थिए । तर उनीहरुले सो अवसरलाई सदुपयोग गर्न सकेनन् ।

१९८६ देखि अहिलेसम्मको तुलना गर्ने हो भने नेपाली खेलकुदको लागि यो एसियाली खेलकुदलाई सबैभन्दा असफलको रुपमा हेर्न करै लाग्छ । राखेप सदस्यसचिव केशबकुमार विष्टले रहर गरी अत्यधिक संख्या खेलमा सहभागिता जनाउन स्विकृत दिनुभयो । उहाँले आफ्नो काललाई स्वर्णिम काल भनिरहँदा नेपाली खेलाडीहरुले इन्डोनेसियामा सबैभन्दा निरासजनक प्रदर्शन गरे । धन्य एडभेन्चर खेल पाराग्लाइडिङबाट एउटा रजत पदक चाहिँ हात पारियो । यसको बावजुद यो एसियाली खेलकुद नेपाली खेलकुदको लागि उपलब्धिविहीन सावित भएको छ ।

नेपाल जुडो संघले एसियाली खेलकुदमा सहभागि हुने आफना ८ खेलाडीलाई बैदेसिक प्रशिक्षण दिनेमा धेरै ध्यान दिइएको थियो । सो खेलकुद आयोजना हुन अगाडि थाइल्यान्डको बैंककमा सम्पन्न जुडो च्याम्पियनसिपमा फुपु ल्हामु खत्रीबाहेक अन्य ७ खेलाडीलाई सहभागिता गराएको थियो । उनीहरुले राम्रै प्रदर्शन गरेका थिए । यहाँपछि हंगेरीको राजधानी बुडापेस्टमा भएको जुडो च्याम्पियनसिपमा समेत उनीहरुलाई प्रशिक्षणकै लागि पठाइयो ।

तर बैंकक, बुडापेस्ट हुँदै जकार्ता पुगेका ७ खेलाडी तथा जापानबाट सीधै जकार्ता पुगेका फुपुले नेपाललाई पदक दिलाउन असफल भए । सन् १९८६ सोल एसियाली खेलकुददेखि नेपालले जुडोमा सहभागिता जनाएको थियो । ३२ वर्षको लामो सहभागितामा जुडोले अहिलेसम्म प्रगति गर्न सकेको छैन । तेक्वान्दो, उसु र कराँतेमा पदक जित्न नसकेपछि जुडोबाट पदक आउने नेपालले आस गरेको थियो ।

फुपुलाई जापानमा विशेष प्रशिक्षण दिइएको थियो । जापानमा बसेर प्रशिक्षण लिएकी फुपु यसअघि ललितपुरमै भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा समेत स्वर्ण जित्नबाट वंचित भएकी थिइन् । उनले २०१४ ब्राजिल ओलम्पिकमा पनि भाग लिएकी थिइन् । उनले जुडो खेलेको करिब एक दसक भइसकेको छ । भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्नु नै उनको अहिलेसम्मको ठूलो पदक हो ।