गाईजात्रामा व्यंग्य र आरोपको वर्षा

0
Shares

जधानीमा सोमबार आयोजित एक कार्यक्रममा हास्यकलाकारले व्यंग्य र आरोपको वर्षा गराएका छन्।

गाईजात्राको अवसरमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्यक्रममा हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ले वर्तमान सरकारले व्यंग्य पचाउन नसक्ने आरोप लगाए। ‘वर्तमान सरकार कलाकारको कुरा सुन्न र व्यंग्यलाई बुझ्न सक्ने छैन।

अहिले त कसैले सरकारको गल्तीका बारेमा व्यंग्य गरे भने उल्टै जेल पठाउने कानुन बनाउँदैछन्। बोल्न पनि डर लाग्दो छ। कुनै मन्त्रीको व्यंग्य गर्ने हो भने जेल हालिदिने खतरा छ। नयाँ कानुनअनुसार क्यारिकेचर गर्न पाइने नपाइने पनि थाहा छैन’, जितुले कार्यक्रममा सुनाए– ‘कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यंग्य गर्दा हरिवंशले लुगा फेर्दै गरेको ठाउँमै पुगेर तिमीलाई त व्यंग्य गर्न आउँदो रहेनछ भन्नुभयो रे।

हरिवंशले डराउँदै किन के भयो, केही गल्ती गरेंकी ? भनेर सोध्दा भट्टराईले भन्नुभएछ– ‘यो त कम भयो, योभन्दा बढी म आफैंले गर्न सक्थें। व्यंग्य पुगेन। सरकारका गल्ती कमजोरीको बारेमा खरोरूपमा प्रस्तुत हुनुपर्छ। खै मलाई त उडाउन सक्नुभएन भन्नुभएको थियो।’ उनले सुनाए– ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कलाकारले प्रस्तुत गरेको हास्यव्यंग्य हेरेर सरकारलाई सच्चिने मौका मिलेको भन्दै धन्यवाद दिनुहुन्थ्यो रे। अहिले त त्यो अवस्था छैन।’ कलाकार नेपालले स्थिर सरकारलाई थाइराइड नहोस् भन्दै व्यंग्य गर्न पनि भ्याए।

अर्का हास्यव्यंग्यका मनोज गजुरेलले सरकारका मन्त्रीले सत्ता, शक्ति र सम्पत्तिको लागि मरिमेट्ने गरेको आरोप लगाए। ‘नयाँ नियम र आचारसंहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो। मैले भनेको कुरा व्यंग्य पनि हो, सत्य पनि हो’, करको प्रसंगसमेत जोड्दै गजुरेलले भने– ‘हाम्रा मन्त्रीलाई ५ मा ५ जोड्दा कति हुन्छ भनेर सोध्ने हो भने ११ हुन्छ भन्नुहुन्छ। ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्ट्याएको भन्नुहुन्छ।’

अर्का हास्यकलाकार दीपकराज गिरीले ५ वर्षका लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हास्यव्यंग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाए। ‘गाईजात्रा व्यंग्यको पर्व हो, तर बलात्कारजस्तो दुखद् र अत्याचारको विषयलाई पनि कलाकारले प्रहसन गर्नुपर्ने स्थिति छ। अर्कोतर्फ ५ वर्षका लागि बनेको सकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हँसाइराख्नुभएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ। उहाँले जनताको कामभन्दा पनि हँसाउने काम बढी गरिरहनुभएको छ’, दीपकले व्यंग्य गरे– ‘कलाकारलाई गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन। प्रज्ञा प्रतिष्ठान मर्मतका रहेकाले हल नपाउँदा हामीले गाईजात्रा कार्यक्रम गर्न पाएनौं।

बानेश्वरको हलमा अर्को गाइजात्रा चलिरहेको छ।’ हास्यकलाकार दमन रूपाखेतीले वर्तमान सरकार मुलुकको अवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए। ‘सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन। हत्या, हिंसा र बलात्कारका घटनाप्रति संवेदनहीन भएर पानीजहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यंग्य गरिरहेको छ।

गणतन्त्रमा जनता करको मारमा छन्। करले जनतालाई थिचिरहेको छ’ –रूपाखेतीले भने। अर्का हास्यकलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले १ महिनाअघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई स्मरण गर्दै प्यारोडी गीत प्रस्तुत गरे। श्रीकृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यंग्य गर्दै सरकारले जनतालाई राहतको रूपमा कर लादेको बताए। हास्यकलाकार राजाराम पौडेल, शिवशंकर रिजाल, पल्पसा डंगोल र कलाकार तथा गायिका भूमिका शाहले पनि व्यंग्य प्रस्तुत गरेका थिए। कलाकारले क्लबका अध्यक्ष ऋषि धमलालाई पनि व्यंग्यको विषय बनाएका थिए।

राजधानीमा हल अभावका कारण वर्षौंदेखि हुँदै आएको तीते जिरे मेरी बास्सै गाईजात्रा कार्यक्रम यस वर्ष प्रभावित हुन पुगेको छ। पछिल्लो समयमा यो कार्यक्रम आयोजना हुँदै आएको नेपाल प्रज्ञा प्रतिष्ठान मर्मतमा रहेकाले तीते जिरे मेरी बास्सै कार्यक्रम हुन नसकेको हो। हास्यकलाकारको अर्को समूहले भने राष्ट्रिय नाचघरमा गाईजात्रा कार्यक्रम आयोजना गरेको छ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले हास्यव्यंग्य हेरेर सरकारलाई सच्चिने मौका मिलेको भन्दै धन्यवाद दिनुहुन्थ्यो रे। अहिले त्यो अवस्था छैन:
जितु नेपाल

 

सरकार हत्या, हिंसाका

घटनाप्रति संवेदनहीन भएर पानीजहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यंग्य गरिरहेको छ :

दमन रूपाखेती

 

५ वर्षका लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हास्यव्यंग्य कलाकारको
जागिर खोसिदिए:

 

दीपकराज गिरी

सरकारका मन्त्री सत्ता, शक्ति र सम्पत्तिका लागि मरिमेट्ने गरेका छन् :

मनोज गजुरेल