प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन

0
Shares

सरोज यादव, विराटनगर ।
प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार गरेका छन् । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले जनै पुर्णीमा तथा रक्षा बन्धनका दिन आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा कार्यन्वयनबारे जानकारी गराएको थियो । तर प्रदेश राजधानी रहेको जिल्ला मोरङमै भने जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालय खुलेका छन् । घोषणा गरेको विदा कार्यन्वयन हुन नसकेपछि प्रदेश सरकारको कार्यक्षमता र कार्य क्षेत्रबारे सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन् । उनीहरुले निर्णय कार्यान्वयन गर्न नसक्नुलाई सरकारको असक्षमता भन्दै टिप्पणी गरेका छन । विराटनगरका व्यवसायी चेतन निरौलाले प्रदेश सरकारको निर्णय जिल्ला प्रशासन कार्यालयहरुले नमान्नु सरकारको असक्षमता भएको टिप्पणी गरे ।
यसअघि पनि साउन २४ गते प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवस तथा भदौ ६ गते मुस्लिम समुदायको पर्व बकरइदका अवसरमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको थियो । तर प्रदेश अन्र्तगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए ।
यता मोरङका सहायक प्रमुख जिल्ला उमेश पाण्डेले जिल्ला प्रशासन कार्यालयहरु प्रदेश सरकार मातहत नभई संघीय सरकार मातहत भएकाले संघीय सरकारको मातहतको कार्यालयहरु सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम कार्यालयहरु खोलिएको जानकारी दिएका छन ।