वडा कार्यालयद्वारा ‘सहज शिक्षा कोष’ स्थापना

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका वडानम्बर ६ को वडा कार्यालयले ‘सहज शिक्षा कोष’ स्थापना गरेको छ । आफ्नो वडाभित्र गरिबीको रेखामूनि रहेका सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउनका लागि वडामार्फत कोषको स्थापना गरिएको हो ।
वडामा रहेका अति गरिब, विपन्न र पारिवारीक बिचलनमा परेका बालबालिकाहरुको शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको बेनपा–६ को वडा कार्यालयले जनाएको छ । वडाले स्थापना गरेको कोषमा वडा कार्यालयको बजेटबाट ५० हजार रुपैयाँ जम्मा गरिएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए । उनले कोषबाट प्राप्त व्याजको रकमले शिक्षाको पहुँचबाट बञ्चित भएका बालबालिकाहरुलाई सहयोग गरिने बताएका छन् ।
आर्थिक अभावकै कारण विद्यालय जान नसकेका बालबालिकाहरुलाई शैक्षिक पोसाक, कापीकलम, झोलासहित स्टेशनरी सामान उपलब्ध गराइने अध्यक्ष बानियाँको भनाइ छ । कोषमा आगामी दिनमा जिल्लास्थित विभिन्न संघसंस्था, व्यक्ति, कार्यालयबाट पनि सहयोग जुटाइने उनले जानकारी दिए । यसैगरी उक्त कोषमा वडा अन्तर्गत रहेका स्थानीय आमा समूह, युवा क्लब, सामुदायिक वन, अन्य संघसंस्थाबाट सहयोग सङ्कलन गरिने भएको छ । आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सघाउन कोष स्थापना गरिएको हुँदा उक्त कोषमा सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताइएको छ ।
वडाका जनप्रतिनिधिहरुले सामूहिक निर्णय गरेर कोष स्थापना गरिएको अध्यक्ष बानियाँले बताए । जनप्रतिनिधि भएवापत वडा अध्यक्ष र सदस्यहरुले पाएको सेवा सुविधाको रकम ५० हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ । वडामा रहेका जनप्रतिनिधिहरुलाई परिचालन गरेर गरिबीको रेखामूनि रहेका बालबालिकाको तथ्याङ्क लिने योजना अगाडि सारिएको छ । बेनपा ६ वडामा ३ वटा आधारभूत र दुईवटा माध्यमिक विद्यालय छन् ।
गएको भदौ १ गते बेनपा–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया पुजा खत्रीले आर्थिक अभावले गर्दा विद्यालयमा आउन नसक्ने भन्दै निष्काशन गरिदिन अनुरोधसहितको मार्मिक पत्र लेखिकी थिइन् । पुजाको जस्तै नियति अन्य बालबालिकाहरुले भोग्न नपरोस् भन्दै वडाले कोष स्थापना गर्न लागेको जानकारी दिएको छ ।