जापानमा लडाकू विमान उडाउने पहिलो महिला, सेनामा महिला सहभागिता बढाइने


टोक्यो, (एजेन्सी)
जापानमा पहिलोपटक एक महिलाले लडाकू विमान उडाउने भएकी छिन्। २६ वर्षीया फस्र्ट लेफ्टिनेन्ट मिसा मात्सुसिमाले शुक्रबारदेखि नै एफ–१५ लडाकू विमान उडानको तालिम गरेर आफ्नो ड्यटी शुरू गर्न लागेको जापानी सेनाले जनाएको छ।

जापानको वायु सैनिक फौजले सन् १९९३ देखि महिलालाई पनि भर्ती गर्न शुरू गरेको भए पनि तिनीहरूलाई लडाकू विमान उडाउने अनुमति भने दिइएको थिएन। बल्ल सन् २०१५ को उत्तराद्र्धमा आएर महिलामाथिको विमान उडाउने रोक हटाइएको थियो।

जापानको राष्ट्रिय प्रतिरक्षा प्रतिष्ठानबाट स्नातक उपाधि हासिल गरेकी उनले भनेकी छिन्– ‘प्राथमिक कक्षामा पढ्दै गर्दा हलिउड चलचित्र ‘टप गन’ हेरेदेखि नै मेरो लडाकू जेट विमान चालकप्रतिको मोह बढ्न थालेको हो। मैले मेरो ड्युटी पूरा गर्नका लागि निरन्तर कडा परिश्रम गरेको थिएँ। वास्तवमा आफू विमान चालक बन्नुभन्दा भविष्यमा अन्य महिलालाई पनि मेरो पथ पछ्याउन सजिलो होस् भन्ने उद्देश्यले मैले मिहिनेत गरेको हुँ।’ अहिले अन्य ३ जना जापानी महिलाले पनि लडाकू विमान उडाउने तालिम लिइरहेका छन्। दुईवटा इन्जिनयुक्त एफ–१५ जे लडाकू विमान आकामा अन्य विमानसँग भिड्नका लागि डिजाइन गरिएका हुन्।

यी विमान आवाजको गतिभन्दा २ दशमलव ५ गुणाले बढी अर्थात् करिब ३ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने गर्दछन्। जापान हवाई प्रतिरक्षा फौजले ट्विटरमार्फत आफ्नो फौजको पहिलो महिला लडाकू विमान चालकको जन्म भएको जानकारी गराएको छ।
२६ वर्षीया मात्सुसिमाले लडाकू विमान चालकको लैंगिक प्रतिबन्ध हटाइनु अघिसम्म अन्य मालवाहक विमान उडाउँदै आएकी थिइन्। अत्यन्तै लैंगिक असमानताको समस्या रहेको जापानमा महिलाले कुनै करियर शुरू गर्नुभन्दा घरघन्दा नै चलाऊन् भन्ने सामाजिक सोच रहेको छ।
तर वृद्धवृद्धाको जनसंख्या बढ्दै जानुका कारण जनशक्ति अभाव हुन थालेपछि सन् २०१३ मा जापानी प्रधानमन्त्री सिन्जो आवेले कामदार महिलालाई प्रोत्साहित गर्ने योजना अघि सारेका थिए।

शसस्त्र फौजले पनि महिला भर्तीलाई बढाउने रणनीति लिएको छ।
जापानको हवाई, जल र स्थलमा कार्यरत २ लाख २८ हजार शक्तिशाली फौजमा आगामी सन् २०३० सम्ममा हाल रहेको महिलाको सहभागिता ६ दशमलव १ प्रतिशतलाई ९ दशमलवमा पुर्याउने सरकारी लक्ष रहेको छ।