ट्रम्पलाई महान्यायाधीवक्ताको चेतावनी


वासिङ्टन, (एजेन्सी)
अमेरिकाका महान्यायाधीवक्ता जेफ सेसन्सले ट्रम्पको एक आक्रामक टिप्पणीको जवाफमा आफ्नो विभाग कुनै प्रकारको राजनीतिक दबाबमा नझुक्ने बताए ।

एक अन्तर्वार्तामा ट्रम्पले सेसन्सको विषयमा व्यक्तिगत टिप्पणी गरेपछि उक्त बयान आएको हो । ट्रम्पले न्याय विभागविरुद्ध लगातार कडा आलोचना गर्दै आइरहेको छ । विशेष गरी न्याय विभागद्वारा सन् २०१६ को चुनावमा रुसको हस्तक्षेपको जाँचलाई लिएर ट्रम्प चिढिएका छन् । सेसन्स शुरूमा ट्रम्पको चुनाव अभियानका समर्थक थिए । तर पछि उनले आफैलाई यस मामिलाबाट हटाएर जाँचको जिम्मा आफ्ना सहायक रड रोजनस्टइनलाई सुम्पेका थिए ।

विशेष परामर्श रोबर्ट मुलरको तर्फबाट भइरहेको जाँचका कारण पनि ट्रम्प प्रायः ट्विटरमा आफ्नो आक्रोश पोख्दै आइरहेका हुन्छन् । दुई दिन ट्रम्पको अभियानका पूर्वप्रबन्धक पल म्यानफर्टलाई ट्याक्स र बैंक घोटालामा दोषी पाइयो । त्यसै गरी ट्रम्पका पूर्व निजी वकिल माइकल कोहेनले कर छली, बैंक घोटाला र अभियानको वित्तीय नियमको उल्लंघनको मामिलामा दोष स्वीकार गरेका थिए ।

आफूविरुद्ध ट्रम्पको टिप्पणीलाई लिएर सेसन्सले चेतावनीको भाषामा भने– ‘जबसम्म महान्यायाधीवक्ता हुन्छु, न्याय विभाग राजनीतिक कारणले कहिल्यै गलत ढंगबाट प्रभावित हुने छैन ।म उच्च मानकको अपेक्षा गर्छु र यदि त्यस्तो हुँदैन भने त्यसमा म फेरि कारबाही गर्न सक्छु।’

फक्स एन्ड फ्रेन्ड्स कार्यक्रममा ट्रम्पले भने– ‘यो अत्यन्तै निराशाजनक दिन हो। जेफ सेसन्सले आफै मुद्दाबाट अलग भए, जुन उनले गर्नु हुँदैनथ्यो । उनले पहिला मलाई भन्नुपथ्र्यो । मेरा शत्रुहरुले पनि भनिरहेका छन् कि जेफ सेसन्सले यस मुद्दाबाट आफूलाई अलग गर्न गइरहेको विषयमा मलाई भन्नुपथ्र्यो । उनले यो पद लिए र फेरि आफैंलाई अलग गरे यो कस्तो खालको चरित्र हो ? उनी मेरो अभियानका हिस्सा थिए ।

मैले उनलाई यो पद एउटै कारणले दिएको हो किनभने मैले उबाट इमानदारीता पाएको थिएँ । उनी पक्का समर्थक थिए । उनी अभियानमा सहभागी थिए । उनलाई थाहा थियो, यसमा कुनै साँठगाँठ थिएन । म्यानफर्ट र माइकल कोहेनको मामिलामा पनि कुनै साँठगाँठको कुरा बाहिर आएन।’